हीरा साहको उखुको जुस यात्रा :  ८ आनादेखि ५० रुपैयाँसम्म 

Share this
729shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन २९, बिहीबार १६:२६
हिरा साहको उखुको जुस यात्रा :  आठ आनादेखि ५० रुपैयाँसम्म 

विराटनगर । विराटनगरको केन्द्र महेन्द्र चोकदेखि पश्चिमतर्फको साँघुरो गल्लीमा उखुको मेसिनसँगै बास बस्छन् हीरा साह । उनका जीवनका वर्षहरू, सम्झना र सुखदुःखका कथा ।

साहले आफ्नो उखुको जुसको व्यवसायलाई आठ आनादेखि ५० रुपैयाँसम्म पुर्‍याएका छन्, जसले उनको उद्यमशीलता र लगनशीलताको कथालाई झल्काउँछ ।

तीन दशकदेखि उखु र मेसिनसँग सिङौरी खेल्दै उनले सुखदुःख पेल्दै आएका छन् । बाटो हिँड्ने यात्रुहरूको तिर्खा मेटाउने उनको मिठो जुसले कतिलाई त बाल्यकालको स्वाद सम्झाइदिन्छ ।

६५ वर्षीय साहको संसार उखुको मेसिन र नियमित आउने –जाने ग्राहकमै सीमित रहँदै आएको छ ।

उमेरको खुड्किला उकालो लाग्दा –लाग्दै पनि उनको जोस जाँगर उही ताजगी लिएर बगिरहेको छ, मानौँ समयले उनीभित्रको जवानी छुनै नपाएको जस्तै । उनी गर्विलो स्वरमा भन्छन्, ‘यसैको कमाइले छोराछोरी पढाएँ, छोरीको विवाह गरेँ ।’

विराटनगर –११ मा जन्मिएका उनले जीवनको ऊर्जाशील समय उखु र मेसिनमै बिताए । अब पनि आराम गर्ने कुरा उनको सोचमा छैन । ‘यो मेसिन र यो पेसाले नै मेरो परिवार धानेको हो । भगवानको आशीर्वादले अझै चलिरहेको छ,’ उनी सुनाउँछन् ।

त्यसो त उमेरका खुड्किलामाथि सरिसक्दा पनि उनको दिनहरू अझै उखुको मिठो रस, घुमिरहने मेसिन र परिचित ग्राहकको मुस्कानको सम्बन्धका धागोसँगै बुनिँदै आएका छन् ।

उनी हाँस्दै भन्छन्, ‘केही नभएको बेला मेसिनले साथ दियो, सबै यहीँ छ, अब छोराहरू कमाउन थालेका छन्, सुखको दिन आउँदै छ । यो मेसिन छाड्ने कुरै भएन, जसले मलाई र मेरो परिवारलाई यहाँसम्म ल्याइपुर्‍यायो । सकुन्जेलसम्म यही मेसिनसँग रमाउँछु ।’

उनको व्यवसायले पनि एउटा जुग बिताइसकेको छ । समयसँगै मूल्यको अंक फेरियो, पहिले आठ आनामा बिक्ने जुस आज ५० रुपैयाँको भइसकेको छ । उनी भन्छन्, ‘पहिले बाह्राना, चारानामै उखु पाइन्थ्यो, अहिले सय रुपैयाँ तिर्नुपर्छ ।’

सामानको भाउ समयसँगै आकासिँदै गयो, तर उनको जीवनको चाल भने उही धरातलमै अडिएको छ । यद्यपि, उनको मनमा सन्तोषको मिठास अझै घुमिरहेको छ ।

महँगीले डाँडा काट्यो, सामानको भाउ अकासियो र उनको जुसको मूल्य पनि समयसँगै बढ्दै गयो । उनी हुर्किएको र व्यवसाय गर्दै गरेको विराटनगरका गल्लीहरू फेरिए, साना घरहरू महलमा रूपान्तरित भए । तर, उनको सपना र पेसाको बाटो भने अडिग रह्यो ।

बुवाबाट सिकेको पेसा उनीका लागि पुस्तौँसम्मको सम्पत्ति जस्तो भयो । उखुको रस (जुस)को मिठाससँगै उनको जीवनको मिठास पनि यही गल्लीमा, यही मेसिनसँग घुमिरहेको छ ।

उनी सम्झन्छन्, ‘बुवाले गर्नुहुन्थ्यो, म पनि त्यहीबाट सिकेर अगाडि बढेको हुँ, यो पेसा त पुस्तौँदेखि चले जस्तै लाग्छ ।’

सुरुमा उनी इन्धनबाट चल्ने मेसिन प्रयोग गर्थे । तर, ध्वनि प्रदूषणको कारण महानगरले हटाएपछि अहिले सामान्य हाते मेसिनबाटै उखु पेलेर जुस बिक्री गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.