
विराटनगर । विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राको भव्य तयारी भइरहेको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्णको युगल जोडीसहितको रथ निकाल्ने चलन छ ।
यसवर्ष भदौ १ गते आइतबार निकालिने भएको छ । यसपटकको ५८ औं रथयात्रा राधाकृष्ण मन्दिर विराटनगर–१ बाट सुरु भएर तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ ।
भगवान श्रीकृष्णप्रति आस्था राख्नेहरुले १९८८ सालदेखि ‘खटयात्रा’को रूपमा शोभायात्रा सुरू गरेको इतिहास छ । यो २०२२ सालमा वयलगाडाबाट निकालिन थालिएको थियो ।
२०२५ सालमा विराटनगरका स्थानीय भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि खटयात्रालाई रथयात्रामा परिणत गरिएको हो ।
रथ यात्रामा नेपाल र भारतका करिब ४ लाख बढी भक्तजन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटालगायत पूर्वका जिल्ला तथा भारतको बिहार र पश्चिम बंगालबाट रथको अवलोकन गर्न भक्तजनहरु आउने गरेका छन् ।
कोरोनाका कारण ५२ र ५३ औं रथयात्रा खट यात्रामा सीमित भएको थियो । त्यतिबेला रथलाई एउटा गाडीमा राखेर नगर परिक्रममा गराइयो ।

हिन्दु धर्मग्रन्थहरूमा रथको महिमा र श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेको उल्लेख छ । कृष्णको स्मरण गराउने यो रथयात्रामा सहभागी हुन हजारौं सर्वसाधारण कामकाज छोडेर पुग्ने गरेका छन् ।
रथको डोरी छुँदा मोक्ष प्राप्त र मनोकामना पूरा हुने जनविश्वास छ । ‘यसको धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव छ,’ राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले भने, ‘हिन्दू धर्मको मात्र भनिन्थ्यो, तर यो रथयात्रामा सबै जातजाति र भाषाभाषीको सहभागिता रहने यसले साम्प्रदायिक सद्भाव राखेको छ ।’ मनोकामना पूरा हुने विश्वासमा रथको डोरी तान्न तँछाडमछाड चल्ने गर्छ । रथयात्रा विराटनगरकै एउटा प्रमुख चाड भएको र यसमा लाखौं श्रद्धालुको चासो रहेको रेग्मीले बताए ।
उनले भने, ‘सधैँ भक्तजनहरुले भगवान नदेखिने, डोरी छुन नपाउने गुनासो गर्नुहुन्थ्यो । यस पटक यसलाई सहज बनाएका छौं । रथमा सवार भगवान्लाई सबैले देख्नु हुन्छ । पुरानो रथ २०२५ सालको थियो । जसलाई पुनःनिर्माण गरेका छौं । हरेक वर्ष रथलाई नयाँ ढंगले सिँगार्ने क्रममा यस वर्ष केही परिवर्तन गरिएको छ । स्वेदशी र विदेशी कालीगढहरुले यसपटक रथ बनाएका छन् । पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट ३ इन्चको छ ।’
रथयात्राका क्रममा विभिन्न झाँक्रीहरु प्रदर्शन गरिने छ । रथयात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिनका लागि मोरङ प्रशासनले सुरक्षा सयन्त्रलाई परिचालन गरिसकेको छ ।
नेपाल प्रहरीले सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसँग समन्वय गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हस्तबहादुर सुनुवारले जानकारी दिए ।
उनका अनुसार रथयात्रामा सहभागी हुन आउने भक्तजनहरुको सुरक्षाका लागि चोकचोकमा पोसाकसहितका र सादा पोसाकका प्रहरीहरु व्यापक रुपमा परिचालन हुने छन् । सुरक्षाको चाँजोपाँजो मिलाउने काम अहिलेदेखि नै सुरु गरिसकिएको सुनारले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रथयात्रालाई भव्य, सभ्य र सुरक्षित बनाउन विशेष सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए ।
‘रथयात्राका क्रममा कुनै अवाञ्छित गतिविधि हुन नदिन स्थानीय प्रशासनले चनाखो भएर काम गरिरहेको छ । त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ,’ प्रजिअ यादवले भने, ‘कुनै ठाउँमा गलत वा शंकास्पद गतिविधि हुन लागेको थाहा पाएमा अर्थात् देखेमा तत्काल प्रहरीलाई खबर गर्नुपर्छ । सबै खालका अपराधिक गतिविधि नियन्त्रण गरेर रथयात्रालाई शान्तिपूर्ण बनाइने छ ।’























