
हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसका ५ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद् विस्तार भएसँगै बागमतीमा सरकारले पूर्णता पाएको छ । बानियाँ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए । आफूसहित ८ मन्त्री नियुक्त गरेका उनले ५ जनालाई मन्त्री नियुक्त गर्दै १४ सदस्यीय बनाएका छन् ।
बागमतीको सामाजिक विकास मन्त्रीमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रीमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा चितवनकी बिनु रायमाझी पौडेललाई नियुक्त गरिएको छ ।
यसअघि कांग्रेसबाट खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रीमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी बिना विभागीय मन्त्री नियुक्त भएका थिए । अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नेकपा एमालेबाट ललितपुरका मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त गरिएको थियो ।
दलको नेताबाट हटेसँगै पार्टी नेतृत्वको निर्देशनमा बहादुर सिंह लामाले साउन १८ गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि कांग्रेसकै बानियाँले कांग्रेस र एमालेका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । उनी साउन २० गते मुख्यमन्त्री नियुक्त भए ।
























