पूर्वराष्ट्रपतिलाई सम्मानित व्यवहार गर्नुपर्छ : मुख्यमन्त्री कार्की

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार १६:०७

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताएका छन् ।

धनकुटामा शुक्रबार अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्वराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने बताए । ‘उहाँ (विद्यादेवी भण्डारी)लाई सम्मानित व्यवहार गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

राष्ट्रको प्रमुख भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा कार्कीले भने, ‘हामीले उहाँलाई गालीगलोज होइन, सम्मानपूर्वक व्यवहार र राष्ट्रको सामाजिक काममा लाग्नको लागि अभिप्रेरित गर्नुपर्छ ।’ नेकपा (एमाले) निर्माणमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको योगदान उल्लेख्य रहेको चर्चा गर्दै कार्कीले योगदानलाई सबैले सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘संविधानको संरक्षक र सबैको अभिभावक भइसकेको व्यक्ति सम्मानित भएर बस्दा नै राष्ट्रलाई फाइदा हुन्छ भन्ने उद्देश्यले एमालेले उहाँलाई सम्मानपूर्वक र सम्मानित हुनको लागि आग्रह गरेको हो ।’ मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले उद्दमशीलता विकासका लागि विभिन्न काम गरेको जानकारी पनि दिए ।

उनले प्रदेश सरकारले बिना धितो ऋण दिलाउने व्यवस्था गरेको पनि बताए । कार्कीले भने, ‘अब तपाईंहरुले नयाँ र राम्रो खालको उद्यम गर्न चाहनुहुन्छ भने परियोजना हेरेर बैंकले ऋण दिन्छ । त्यो ऋणको ब्याज प्रदेश सरकारले तिरिदिन्छ । ऋण लिँदा धितो राख्नु पर्दैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.