
काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा फरार अभियुक्त देवेन्द्र यादवलाई दिएको पार्टी सदस्यता नेपाली कांग्रेसले खारेज गरेको छ ।
‘बुझिँदै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ,’ शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मासहितले हिजो (बिहीबार) पार्टी कार्यालयमै बोलाएर यादवलाई सदस्यता दिएका थिए । चौतर्फी आलोचनापछि कांग्रेसले आज ‘थाहा नभएको’ भन्दै यादवको सदस्यता खारेज गरेको हो ।
विक हत्याका आरोपित यादव प्रहरीको सूचीमा फरार अभियुक्त हुन् । महोत्तरी जिल्ला अदालतले प्रतिवादी यादवको मुद्दा मुलतबीमा राखेको छ ।
विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले विकको हत्या गरेका थिए ।
हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

























