ज्ञान, भक्ति र कर्मको पर्व श्रीकृष्ण जन्माष्टमी मनाइँदै

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३१, शनिबार ०६:३४

विराटनगर । ‘कृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् कृष्णको पूजा-आराधना गरी मनाइँदैछ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् कृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई ‘कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् कृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् कृष्णका मुखबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका कृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लाग्छ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ।

यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक संघसंस्थाद्वारा कृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। -रासस

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.