
विराटनगर । नेपालमा रथयात्रालाई रथ जात्रा पनि भनिन्छ, जुन एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक उत्सव हो ।
यो विशेषगरी पुरी, ओडिशा, भारतको भगवान जगन्नाथको प्रसिद्ध रथयात्राबाट प्रभावित छ । नेपालमा विशेषगरी विराटनगरको रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ ।
विराटनगरमा निकालिने यस वर्षको रथयात्राको तयारी पूरा भइसकेको छ । रथ आइतबार विराटनगरका सडकमा गुड्ने छ । यस उत्सवमा भक्तजनहरूले रथलाई सडकमा तानेर यात्रा गराउँछन् ।
वर्षौं पुरानो यो परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ । यस यात्रामा सहभागी हुनका लागि हजारौंको संख्यामा भक्तजनहरू भेला हुन्छन् । उनीहरूले भजन–कीर्तन गर्दै र धार्मिक गीतहरू गाउँदै विशाल रथलाई मन्दिरबाट तानेर नगर परिक्रमा गराउँछन् ।
रथयात्राले धार्मिक आस्था मात्र नभइ धार्मिक विश्वास, एकता र सामुदायिक भावनालाई बढावा दिँदै सामाजिक एकता र सद्भाव पनि बढाउँछ । यो एउटा यस्तो उत्सव हो जसले सबैलाई एक ठाउँमा ल्याएर खुसी र उत्साह साट्ने अवसर दिन्छ ।
यस वर्षको रथयात्रामा पनि विगतका वर्षहरूमा जस्तै ठूलो उत्साह र जनसहभागिता रहने अपेक्षा रथयात्रा व्यवस्थापन समितिले गरेको छ ।
विराटनगरमा नयाँ रथ
विक्रम संवत १९८८ मा विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरको स्थापना गरियो । मन्दिर स्थापना भएपछि कृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्न थालिएको इतिहास छ ।
यस पटक भदौ १ गते आइतबार ५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट सुरु भइ तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । यस यात्राले नगरको ९ किलोमिटर यात्रा पूरा गर्ने छ । नगर परिक्रमाका समयमा ४३ स्थानमा विश्राम लिने बताइएको छ ।
विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ । रथयात्राका क्रममा भक्तजनहरूले भगवानको दर्शन गर्न नपाएको गुनासो धेरै आएपछि यसपटक सबै जनाले देख्ने गरी रथ बनाइएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।

यसपटक पहिलाको भन्दा रथको उचाइ, चौडाइ र लम्बाइ बढाइएको छ । सबैतर्फ काठ प्रयोग गरी विभिन्न भगवानका आकृतिलगायतका धार्मिक अस्था जनाउने बुट्टाहरू कुँदेर बनाइएको छ । ऐतिहासिक रथलाई स्वदेशी र विदेशी कालिगडहरूले परिमार्जन गर्दै नयाँ स्वरुप दिएका छन् ।
पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । विराटनगरका केही व्यक्तिहरूले विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’ रूपमा शोभायात्रा सुरू गरेको इतिहास रहेको रेग्मीले बताए ।
त्यसलाई २०२२ सालदेखि बायलगाडामा निकालिन थालियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि यो रथयात्राको सुरुवात भएको बताइएको छ । त्यस बेलादेखि सुरु भएको रथलाई यसपटक नयाँ ढंगबाट पुनर्निर्माण गरिएको हो ।
रथ यात्रामा नेपाल र भारतबाट हजारौं भक्तजन सहभागी हुने अध्यक्ष रेग्मीले बताए । हिन्दु धर्मग्रन्थहरूमा रथको महिमा र श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेको उल्लेख छ । कृष्णको स्मरण गराउने यो रथयात्रामा हजारौं सर्वसाधारण कामकाज छोडेर सहभागी हुने गरेका छन् ।
रथको डोरी छुँदा मोक्ष प्राप्त र मनोकामना पूरा हुने जनविश्वास छ । ‘यसको धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव छ । हिन्दू धर्मको मात्र भनिन्थ्यो । तर, यो रथयात्रामा सबै जातजाति र भाषाभाषीको सहभागिता रहन्छ । मनोकामना पूरा हुने विश्वासमा रथको डोरी तान्न तँछाडमछाड चल्ने गर्छ । रथयात्रा विराटनगरकै एउटा प्रमुख चाड भएकाले यसमा लाखौं श्रद्धालुको चासो रहन्छ,’ अध्यक्ष रेग्मीले भने ।
रथयात्रा सुरु हुनुअघि करिब १ किलोमिटरसम्म विभिन्न किसिमका झाँकी, जातजातिका नृत्य, भजन मण्डलीलगायत रहने छन् । रथयात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने छ ।
विभिन्न मनोप्रवृत्तिका मानिसहरु समेत आउने भएकाले रथयात्रामा भगवानको दर्शन गर्न आउने भक्तजन/श्रद्धालुहरुले कुनै पनि बहुमूल्य सामान, गरगहनालगायत नलगाइ आउन अध्यक्ष रेग्मीले अग्रह गरे । उनका अनुसार प्रहरीले सुरक्षाको राम्रो व्यवस्थापन गरे पनि भिड ठूलो हुने भएकाले आफू स्वयं सुरक्षित हुनुपर्छ ।
कस्तो छ सुरक्षा तयारी ?
रथयात्रामा स्वदेश तथा विदेश अर्थात् छिमेकी मुलुक भारतबाट लाखौं भक्तजनहरु आउने हुँदा सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सबै सुरक्षा निकायले सक्रियताका साथ आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका साथै नेपाली सेनाबाट रथयात्रा र भक्तजनहरुको सुरक्षाको प्रबन्ध मिलाइएको छ । सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुने छैन ।’

दिउँसो ३ बजेबाट सुरु हुने रथले नगरको ९ किलोमिटर यात्रा तय गर्दा राति करिब ९ बज्ने छ । सुरक्षा व्यवस्था कडा पारिएको यादवले बताए । ‘रथयात्राका क्रममा चोरी, हुलहुज्जत तथा उच्छृङ्खल गतिविधि गर्नेहरु पनि आउँछन्,’ उनले भने, ‘त्यस्ता गलत कार्यमा संलग्नलाई पक्राउ गर्न ठूलो संख्यामा हतियारसहितका र सादा पोसाकका प्रहरी परिचालन गरिने छ ।’ अवाञ्छित गतिविधिमा संलग्ललाई तत्कालै पक्राउ गर्ने तयारी रहेको उनले बताए ।
प्रजिअ यादवले भने, ‘रथयात्रामा हजारौं भक्तजन आउने छन् । भिडभाड र गर्मीले स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सरकारी र निजी अस्पतालसँग सहकार्य गरेर स्वास्थ्यकर्मी र आवश्यक औषधिसहित एम्बुलेन्सको व्यवस्था गरिएको छ । रथयात्रामा आउने सर्वसाधरणलाई बहुमूल्य गरगहना नलाइ आउन अनुरोध गर्दछु । रथयात्रामा बढी भिडभाड हुने स्थानको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।’
नेपाल प्रहरीले सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसमेतका सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्था मजबुत बनाइने मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनुवारले जानकारी दिए । उनका अनुसार रथयात्रामा सहभागी हुने भक्तजनहरुको सुरक्षाका लागि चोकचोकमा पोसाकसहितका र सादा पोसाकका प्रहरीहरु व्यापक रुपमा परिचालन गरिने छ । सुरक्षाको चाँजोपाँजो मिलाउने काम सुरु गरिसकिएको सुनारले बताए ।























