
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रण दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज (आइतबार) काठमाडौं आइपुगेका छन् ।
उनी भारतीय वायुसेनाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । मिश्री समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन् ।
काठमाडौं पुगेपछि उनले सर्वप्रथम राईसँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उच्चपदस्थ नेताहरूसँग पनि भेट्ने कार्यसूची तय गरिएको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय विदेश सचिवले मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनेछन् । प्रधानमन्त्री ओलीले भदौ ३१ गते भारत प्रस्थान गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
मिश्रीको नेपाल यात्राका क्रममा दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारी र आपसी हितका विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ । यसै क्रममा ओलीको आसन्न भारत भ्रमणका एजेन्डा र प्राथमिकताबारे द्विपक्षीय तयारी पनि गरिनेछ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण १४ महिना लामो कार्यकालपछि हुन लागेको हो । यस भेटवार्ताबाट दुवै मुलुकबीच राजनीतिक, आर्थिक र कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।
























