
विराटनगर । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय र संगठित सदस्य भएको दाबी गरेकी छन् ।
तर, पार्टीले भने उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले ४५ वर्षदेखि आफू एमालेको संगठित सदस्य रहेको दाबी गरेकी हुन् ।
पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको भनाइ छ । ‘म नेकपा (एमाले)को कार्यकर्ता हो । हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हो । पार्टीले निर्णय गरेर पठाएको हो । र आज पनि म त्यहीँ छु,’ उनले भनिन् ।
पार्टी सदस्यताको विषयमा भने उनले कसैले खोस्दैमा आफ्नो सदस्यता नजाने बताइन् । ‘कुनै कुरामा कसैले विवाद उठायो होला,’ उनले भनिन्, ‘पार्टीको औपचारिक कुरा के छ, मलाई थाहा भएन । म केन्द्रमा छैन ।’

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँगको भेटमा सामान्य छलफल भएको उनले बताइन् । ‘उहाँ पनि मोरङकै हो, हामी पनि त्यहीँ जन्मे–हुर्केको हो । भेटको कुरालाई यस्तो ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ,’ उनले भनिन्, ‘देशका समस्याबारे केन्द्रीय नेताहरूले छलफल गर्नु राम्रो कुरा हो ।’
आफ्नो जन्मस्थान भोजपुर भएका कारण आफू माझकिरातको छोरी भएको दाबी गरेको उनले बताइन् । पूर्वराष्ट्रपति भण्डारीले वाम एकताको बलियो आधार नदेखेको बताइन् । ‘सम्भाव नै छैन भनेर मैले भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिँन,’ उनले भनिन् ।
























