गौर हत्याकाण्ड : उपेन्द्र यादवमाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २, सोमबार १९:०९

काठमाडौं । रौतहटको गौर नरसंहारमा मुछिएका प्रमुख व्यक्ति एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौरहत्या काण्ड विवादमा यादवमाथि अनुसन्धान अघि बढाउन सोमबार परमादेश जारी गरेको हो । हत्याकाण्ड भएको वर्षौं बितिसक्दा पनि राज्यले दोषीलाई कारबाही अघि बढाउन सकेको थिएन ।

यादवमाथि अनुसन्धान अघि बढाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा २०८० साल जेठ २१ गते रिट दायर भएको थियो । सोही मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले यादवमाथि अनुसन्धान अघि बढाउन १९ वर्षपछि परमादेश जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट गौर र जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौरसमेतलाई विपक्षी बनाएर पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दायर गरेका थिए । २०६३ चैत ७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

यादव त्यतिबेला तत्कालीन मधेशी जनाधिकार फोरमका अध्यक्ष थिए । रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एउटै चौरमा सभा गर्न लाग्दा २ पक्षबीच झडप भएको थियो ।

उक्त झडपमा परेर २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । सो घटनामा ५० भन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका थिए । पूर्वनियोजित तथा संगठित रूपमा माओवादी कार्यकर्तालाई लक्षित गरेर आक्रमण गरिएको ठहर राष्ट्रिय मानवअधिकार आयोगले गरेको थियो ।

यसैबीच, सर्वोच्चले परमादेश जारी गरेपछि यादव कानुनी परामर्शमा जुटेका छन् । परमादेशपछि पार्टीभित्र आकस्मिक छलफल भएको छ । काठमाडौंको बबरमहलस्थित १ रेस्टुरेन्टमा जारी पार्टी प्रशिक्षण कार्यक्रममा छलफल भएको बैठकमा सहभागी १ नेताले बताए ।

पार्टीमा महासचिव रामकुमार शर्माले पहिचान र संघीयताका हिमायती उपेन्द्र यादवलाई राज्यले षड्यन्त्र गरेर फसाउन खजेको प्रतिक्रिया दिए । उनले राजनीतिकरूपमा समाधान गर्नुपर्ने विषय अदालतमा प्रवेश गराएको प्रति पार्टीको आपत्ति रहेको उनले बताए । अदालतको परमादेशविरुद्ध कानुनी उपचारमा जाने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.