
विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एजेन्डा र देशको अभिभारा पूरा गर्न पुनः पार्टी राजनीतिमा सक्रिय भएको बताएकी छन् ।
पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणापछि पहिलो पटक कार्यकर्तालाई सम्बोधन गर्दै उनले राजनीतिमा फर्किएको बताएकी हुन् ।
‘जे विशेष कामको जिम्मेवारीमा म गएको थिएँ, त्यसबाट फर्केर म तपाईंहरूकै परिवारमा आबद्ध भएको छु,’ उनले भनिन्, ‘मेरो निष्कर्ष छ कि नेकपा (एमाले) एउटा देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी हो र यसले राष्ट्रका अभिभाराहरू पूरा गर्न सक्छ ।’
आफ्नो राजनीतिक यात्राको सुरुवात विराटनगरबाटै भएको स्मरण गर्दै उनले पार्टीसँगको आफ्नो भावनात्मक र वैचारिक सम्बन्ध कहिल्यै नटुटेको बताइन् ।
‘पार्टी सदस्य पनि म विराटनगरबाटै भएको, अनि फेरि अनि शपथ पनि यहीँ खाएको र यहीँबाट ०४६ सालको जनआन्दोलनमा पनि भाग लिएकी हुँ,’ उनले भनिन्, ‘त्यसपछि हामी चाहिँ काठमाडौँ गएको हो, सबै हिसाबले विराटनगर, मोरङ हाम्रो गृह जिल्ला, प्रिय नगर जस्तो भएर जोडिएको छ ।’
‘अहिले पार्टीको कुनै विशेष जिम्मेवारीमा त म छैन, तर राष्ट्रपतिबाट निवर्तमान भइसकेपछि मैले पार्टीको सदस्यता नवीकरण गरेको छु । उनले भनिन्, ‘४५ वर्षदेखिको यो यात्रा निरन्तर छ ।’
रोक्ने प्रयास असफल
सोमबार विराटनगर आएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको पार्टी कार्यालय जाने सेड्युल थियो ।
नेता कार्यकर्ताले १० वर्षपछि पूर्व राष्ट्रपति पार्टी कार्यालय आउने भन्दै स्वागतका लागि प्रचार गरे । तर, संस्थापन पक्षलाई यो विषय मन परेन्, प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टी कार्यालयमा पूर्व राष्ट्रपति भण्डारीको कुनै कार्यक्रम नराख्न जिल्ला सचिव सोमराज थापालाई फोन गरेर निर्देशन दिए ।
एमाले विराटनगर महानगरपालिका इन्चार्ज पर्शुराम बस्नेतले पार्टी कार्यालयमा कुनै कार्यक्रम नभएको भन्दै कार्यकर्तालाई नजान निर्देशन जारी गरे ।
संस्थापन पक्षले रोक्ने प्रयास गरे पनि नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो करिब १ बजे पार्टी कार्यालय पुगिन् ।
पार्टी कार्यालयमा भण्डारीलाई जिल्ला र विराटनगर महानगरपालिका नगर नेतृत्वले स्वागत गर्यो । जिल्ला र नगरको नेतृत्व भण्डारी पक्षकै छ । विद्या भण्डारी आउँदा केपी शर्मा ओली पक्षका नेता कार्यकर्ता गएनन् ।
पार्टी कार्यालय पुगेर मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिन् । पार्टीको सभा कक्षमा भेला भएका समर्थकलाई सम्बोधन गरेपछि फोटो खिचेर उनी फर्किइन् ।
एमाले पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारी १० वर्षपछि पार्टी कार्यालय पुग्दा संस्थापन पक्षका नेताहरू थिएनन् । भण्डारी पक्षका केही नेता कार्यकर्ता उपस्थित भएका थिए ।
संस्थापन पक्षले सुरुमा उनलाई रोक्न खोज्यो, नसकेपछि कार्यकर्तालाई रोके र आफू पनि आएनन् । ‘उहाँहरूले फोन गरेर औपचारिक अनौपचारिक कार्यक्रम नराख्न भन्नु भएको थियो,’ भण्डारी पक्षका एक नेताले भने, ‘नेता कार्यकर्तालाई फोन गरेर नजा भन्नुभयो ।’
नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पूर्व राष्ट्रपति भण्डारीको कुनै कार्यक्रम नराख्न जिल्ला कमिटीलाई निर्देशन दिएको बताए । ‘मैले कार्यक्रम नराख्नुहोस् भनेको हो,’ खतिवडाले भने, ‘त्यसले केही रियाक्सन ल्यायो भने उहाँहरूले नै व्यहोर्नु पर्छ ।’
























