
विराटनगर । कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले राजनीतिक र सामाजिक आन्दोलनमा सक्रिय रहँदा तिजलाई महिला स्वतन्त्रता र सशक्तीकरणको पर्वका रूपमा लिएको बताएकी छिन् ।
मंगलबार प्रेस चौतारी नेपाल, मोरङले आयोजना गरेको तिज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
पछिल्लो समय व्यस्त जीवनशैलीका कारण तिज आपसी भेटघाट र शुभकामना आदानप्रदान गर्ने माध्यम बनेको उनको भनाइ छ ।
तीजलाई भड्किलो बनाउन नहुने बताउँदै उपसभामुख दनुवारले भनिन्,’पहिले–पहिले तीजमा भए पनि नभए पनि गहना लगाउने चलन थियो, तर अहिले त्यो चलन कम हुँदै गएको छ ।’
उनले तीज पर्वले समाजमा एकताको भावना अभिवृद्धि गर्न सफल भएको पनि बताइन् ।
























