
विराटनगर । मुलुकी सञ्चार नेटवर्क प्रा.लिद्वारा कोशी प्रदेशको राजधानी विराटनगरमा सञ्चालित मुलुकी खबर डटकम अनलाइनले आफ्नो पहिलो वार्षिकोत्सव फरक शैलीमा मनाएको छ ।
पत्रकारिता क्षेत्रमा मात्रै नभएर समाजप्रतिको जिम्मेवारीलाई समेत जोड्ने उद्देश्यका साथ अनलाइनले वार्षिकोत्सवको अवसरमा २ वटा विशेष र फरक हिसाबका सामाजिक कार्यक्रम सम्पन्न गरेको हो । वार्षिकोत्सवको अवसरमा विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा वृद्धवृद्धाहरुलाई मंगलबार खाना खुवाइएको छ । मोरङकै कटहरी गाउँपालिका–६ भौडाहास्थित प्रजातन्त्र माध्यमिक विद्यालयमा ‘सामाजिक सञ्जाल र कानुनी व्यवस्था’ सम्बन्धी सचेतनामूलक अन्तरक्रिया सोमबार सम्पन्न भएको थियो ।
वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम आयोजना गरिएको हो । मंगलबार विराटेश्वर वृद्धाश्रममा आयोजना गरिएको कार्यक्रममा आश्रममा आश्रित ६२ जना वृद्धवृद्धाहरुलाई खाना खुवाइएको छ ।
पहिलो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने निर्णयअनुसार खाना खुवाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, मुलुकी खबर डटकमका सम्पादक किशोर बुढाथोकी, महाप्रबन्धक रविन भट्टराई, नेपाल प्रेस युनियनका उपमहासचिव अभय राईलगायतको उपस्थिति थियो ।
वृद्धाश्रमका सञ्चालक जगतप्रसाद अर्यालले सञ्चारमाध्यमले आश्रममा आएर पहिलोपटक कार्यक्रम आयोजना गरेको भन्दै खुसी व्यक्त गरे । उनले सञ्चार क्षेत्र सामाजिक उत्तरदायित्व बोकेर अघि बढेको देख्दा आफूसहित वृद्धवृद्धा सबैले आत्मीयता महसुस गरेको बताए ।
महासंघ मोरङकी अध्यक्ष पाठकले सञ्चारमाध्यमले समाचार लेख्ने मात्र नभएर समाजप्रति उत्तरदायी कार्यमार्फत उदाहरण प्रस्तुत गर्नुपर्ने बताउँदै मुलुकी खबरले सुरु गरेको कदम अनुकरणीय भएको उल्लेख गरिन् । कार्यक्रममा सम्पादक बुढाथोकीले मुलुकी खबरले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चारलाई व्यवसायिकतासँगै सामाजिक सेवाको पाटोमा समेत जोड्नु मुलुकी खबरको दीर्घकालीन लक्ष्य रहेको बताए ।

यसैबीच, मोरङको कटहरी गाउँपालिका–६ भौडाहास्थित प्रजातन्त्र माध्यमिक विद्यालयमा सोमबार मुलुकी खबरले सामाजिक सञ्जालको प्रयोग र कानुनी व्यवस्थासम्बन्धी सचेतनामूलक अन्तरक्रिया आयोजना गरेको थियो । कार्यक्रममा उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिव एवं अधिवक्ता विनोदकुमार तिमल्सिनाले विद्यार्थीहरुसँग सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कानुनी पक्षबारे सहजीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले प्रदेश तथा स्थानीय सरकारले आयोजना गर्नुपर्ने कार्यक्रम मुलुकी सञ्चार नेटवर्कले आफ्नै स्रोत–साधन प्रयोग गरेर आयोजना गर्नु महत्वपूर्ण भएको बताए । विद्यालयका प्रधानाध्यापक महानन्द पण्डितले कार्यक्रमले विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत गराएको भन्दै आभार व्यक्त गरे ।
युवा नेता मुकेश बुढाथोकीले ग्रामीण क्षेत्रमा पुगेर विद्यार्थीलाई प्रविधिको सही उपयोगका लागि प्रोत्साहित गर्नु सञ्चारमाध्यमको सार्थक कदम भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महतोले सामाजिक सञ्जाल दुरुपयोगका कारण विद्यार्थीमा देखिएका समस्या कम गर्न यस कार्यक्रमले सहयोग पुर्याएको धारणा राखे ।
कार्यक्रम मुलुकी खबरका सम्पादक किशोर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो भने महाप्रबन्धक रविन भट्टराईले स्वागत मन्तव्य दिएका थिए । यसरी पहिलो वर्ष पूरा गरेको मुलुकी खबर डटकमले पत्रकारिता मात्र नभएर सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको छ ।
वृद्धाश्रमका वृद्धवृद्धासँग आत्मीयता बाँड्दै र विद्यालयका बालबालिकासँग कानुनी सचेतना आदानप्रदान गर्दै मनाइएको पहिलो वार्षिकोत्सवले सञ्चारमाध्यम समाजको अभिन्न अंग हो सन्देश प्रवाह भएको महाप्रबन्धक भट्टराईले बताए । मुलुकी खबरले कानुन र अपराध पत्रकारितालाई प्राथमिकतामा राख्दै राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, संस्कृति र खेलकुदजस्ता समाजसँग जोडिएका हरेक विषयलाई सामाचारका रूपमा समेट्दै आएको छ ।























