उपसभामुख हटाउन हस्ताक्षर जारी

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ४, बुधबार १०:३५

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन आज (बुधबार) पनि हस्ताक्षर संकलन जारी राखिने भएको छ । सांसदहरूको हस्ताक्षर संकलन जारी रहने भएको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदहरूले मंगलबार खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेका थिए । मंगलबार उपलब्ध नभएका सांसदलाई बुधबार हस्ताक्षर गराइने १ सांसदले बताए ।

पार्टीले सांसदको हस्ताक्षर संकलन गराएर राख्नु स्वभाविक रहेको बताउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यो पुरानै अभ्यास भएको उल्लेख गरे । मंगलबार कति सांसदको हस्ताक्षर संकलन भयो भन्ने यकिन विवरण सार्वजनिक हुन सकेको छैन ।

उपसभामुखाई हटाउन प्रस्ताव दर्ता गर्नका लागि ६९ जना सांसद भए पुग्छ । हटाउने निर्णयका लागि लागि भने दुईतिहाइ आवश्यक पर्छ ।

संविधानको धारा ९१ को ‘ग’ मा ‘‘पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा’ सभामुख र उपसभामुखको पद रिक्त हुने भनिएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ । यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एकचौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ ।

२७५ सदस्यीय सभामा एकचौथाई भनेको ६९ जना सांसद हो । प्रतिनिधिसभामा २७४ जना सांसद छन् । रुपन्देही–३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।

यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुईतिहाइ अर्थात, १८३ जना सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७९ जोड्दा १६७ पुग्छ ।

सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।

प्रतिनिधिसभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा (एकीकृत समाजवादी)का १० जना सांसद रहेका छन् । जसपा नेपालका ५, नेमकिपाका १, जनमोर्चाका १, आजपाको १ र स्वतन्त्र २ जना सांसद रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.