कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट र उपसभामुख सृजना दनुवार ।विराटनगर । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाएर जिम्मेवारीबाट हटाउने गृहकार्य चलिरहेका बेला कोशी प्रदेशमा पनि सभामुख हटाउने गृहकार्य सुरु भएको छ ।
कोशी प्रदेशमा राप्रपाबाट अम्बरबहादुर विष्ट सभामुख छन् । कांग्रेस एमाले नेतृत्वको गठबन्धनले विष्टलाई हटाउने तयारी गरेको हो ।
सत्तागठबन्धनबीच सभामुखको जिम्मेवारी नेपाली कांग्रेसलाई दिने तयारी छ । यद्धपि कांग्रेस भित्र सभामुख हटाउने विषयमा एकमत छैन ।
एमाले र कांग्रेसबीच सभामुख फेर्ने विषयमा पटकपटक छलफल भएको छ । ‘नेकपा एमालेले सुरुदेखि नै सभामुख हटाउन लविइङ गरिरहेको छ, तर हटाउनु हुँदैन भन्ने पक्षमा हामी छौं,’ कांग्रेस संस्थापन पक्षका एक नेताले भने,‘ सभामुख हटाउने वित्तिकै मुख्यमन्त्रीको(हिक्मतकुमार कार्की) मनोमानी चल्छ ।’
सभामुखलाई हटाएको अवस्थामा कांग्रेसबाट हिमाल कार्की, भीम पराजुली र इस्राइल मन्सुरी मध्ये एकलाई सभामुखमा पठाउने तयारी छ । तर भीम पराजुलीले सभामुख नबन्ने बताइसकेका छन् ।
सभामुखलाई फेर्ने कसरत सुरु भएपछि कोशी प्रदेश सभा बैठकमा नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ । बुधबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेती‘सुशील’ले कोशीका सभामुख विष्टलाई पनि हटाउन ‘बन्द कोठा’मा तयारी भइरहेको बताए ।
‘म गठबन्धनलाई प्रश्न गर्न चाहन्छु । हिजो के भनेर कांग्रेस र एमालेकै सहमतिमा यहाँको सभामुख नियुक्ति गरियो ? अहिले उहाँहरू फेरि यहाँको सभामुखलाई पनि हटाउन बन्द कोठाभित्र छलफल गरिरहेको र मिडिया ट्रायलका लागि समाचारहरू बाहिर आइरहेका छन्,’ उनले भने,‘ के आधारमा तपाईंहरूले यस्तो गरिरहनु भएको छ ?’
बुधबार नै विषेश समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका सांसद दुर्गा चापागाईंले सभामुख हटाउन खोजिएको भन्दै विरोध जनाए ।
कांग्रेसले सभामुख लिए प्रदेशसभा नयाँ सरकार गठनको जोडघटाउ कठिन हुनेछ । ‘हिजो सरकार गठनका लागि हामीले नै सभामुख राप्रपालाई दिएको हो, अहिले हटाउन मिल्दैन,’ कांग्रेस संसदीय दल स्रोतले भन्यो,‘ कांग्रेस एमालेको कोलिसन चेन्ज भयो भने फेरि सरकार बनाउन कठिन हुन्छ ।’
नेपाली कांग्रेस सांसद भीम पराजुली सभामुख हटाउने विषयमा कांग्रेस भित्र छलफल नभएको बताउँछन् ।‘ कांग्रेस भित्र यो विषयमा कुनै छलफल भएको छैन,’ उनले भने,‘सभामुख हटाउनु हुँदैन ।’
नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका सांसद तिलकुमार मेन्याङ्बो प्रदेशमा सभामुख फेर्ने विषयमा कुनै छलफल नभएको बताउँछन् । ‘माथिको उपसभामुखको कुरा जोडेर यहाँ भन्या हो, त्यस्तो तयारी केही छैन,’उनले भने,‘ अहिले त्यस्तो केही भएको छैन ।’
























