‘दुई दलीय गठबन्धनको सरकार असफल भयो’

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ४, बुधबार १९:५४

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य दुर्गा प्रसाद चापागाईंले काँग्रेस–एमाले सम्मिलित वर्तमान सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् ।

कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता साझेदार दलहरू भ्रष्टाचारमा लिप्त रहेको गम्भीर आरोप लगाए ।

उनले दुई ठूला दलको गठबन्धन ‘काले काले मिलेर भाले खाने’ उद्देश्यले बनेको भन्दै सरकारको एक वर्षे कार्यकालको चर्को आलोचना गरे ।

संघीय तथा प्रदेश सरकार सञ्चालनको एक वर्षलाई हेर्दा सरकार निरंकुश र स्वेच्छाचारी बन्दै गएको उनको दाबी छ ।

‘आज जहाँ सरकार, त्यहाँ भ्रष्टाचार भन्ने मान्यता स्थापित भएको छ,’ उनले भने, ‘यो गठबन्धन आफू र आफ्नालाई जोगाउन मात्र बनेको हो भन्ने कुरा प्रधानमन्त्री स्वयंले ‘हामी नमिलेको भए जेल हाल्ने तयारी थियो’ भनेर पुष्टि गरिसक्नुभएको छ ।’

चापागाईंले सरकारले संवैधानिक परिषदमा बहुमत पु¥याउन संघीय संसदमा एक महिला उपसभामुखलाई हटाउन खोजेको भन्दै त्यसको घोर निन्दा गरे । उनले दुई तिहाइको बलमा कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई समेत नियन्त्रणमा लिन खोजेको आरोप लगाए ।

‘संघमा जस्तै प्रदेशमा पनि सभामुख हटाएर सत्तापक्षबाटै नयाँ सभामुख बनाउने कसरत भइरहेको हल्ला छ,’ उनले भने, ‘यदि यो साँचो हो भने प्रदेशको अस्थिरतालाई थप मलजल नगर्न म प्रमुख दुई दललाई आग्रह गर्दछु ।’

प्रदेश सरकारले सरकारी कामकाजको भाषामा लिम्बू र मैथिली भाषालाई समावेश गर्न ल्याएको विधेयकको स्वागत गर्दै उनले सत्तापक्षलाई जस लिन हतारो भएको आरोप लगाए । उनले भने,‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता उपलब्धि माओवादी जनयुद्ध र यसका नेता प्रचण्डको देन हो । एउटा विधेयक ल्याएर जस लिन खोज्नुको अर्थ छैन, यसको जस युगयुगसम्म माओवादीले नै पाउनेछ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.