विद्यादेवी भण्डारीले थापागाउँमा खोलिन् सम्पर्क कार्यालय, के के भनिन् ?

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ५, बिहीबार १५:५७

काठमाडौं । नेकपा (एमाले)को संस्थागत विरोधका बीच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी छन् ।

भण्डारी एमालेको पूर्वउपाध्यक्ष पनि हुन् । उनी आफैंले बिहीबार कार्यालय उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष सुरेन्द्र पाण्डे र कर्ण थापालगायत नेताहरू सहभागी भएका थिए ।

यो कार्यालयलाई ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को नाम दिइएको भए पनि निकटस्थहरूले यसैमार्फत भण्डारीले आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्ने बताएका छन् । समितिको संयोजक डोरमणि पौडेल छन् भने भण्डारी संरक्षकको भूमिकामा छिन् ।

भण्डारीलाई पार्टीले सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णयविरुद्ध ३ जना पदाधिकारी स्पष्ट रूपमा खुलेका छन् । पोखरेल, ज्ञवाली र पाण्डेले भण्डारीको राजनीतिक संलग्नतालाई जायज बताउँदै उनलाई पार्टी कार्यकर्ता भएर काम गर्न नरोकिनुपर्ने धारणा राखेका छन् ।

तर, एमाले केन्द्रीय कमिटीले भने संवैधानिक व्यवस्थाअनुसार पूर्वराष्ट्रपतिले राजनीति गर्न नमिल्ने भन्दै उनको सदस्यता कायम गर्न नसक्ने निष्कर्ष निकालेको छ । कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले अहिले दलहरूले प्रणालीगत सुधार गर्न नसकेको आरोप लगाइन् ।

्उनले संसद निरीह बनेको, संविधान संशोधनको विषयमा ठोस छलफल नभएको र राज्य संयन्त्र नै प्रणालीमा सञ्चालनमा नचलेको टिप्पणी गरिन् । शिक्षा नीति कपिपेस्टमात्र बनेको, जनप्रतिनिधिहरू आदर्शअनुसार नचलेको र भ्रष्टाचारका कारण सुशासन खुम्चिएको भन्दै कटाक्ष गरिन् ।

आर्थिक क्षेत्रमा समेत गम्भीर समस्या रहेको उनको भनाइ थियो । ‘खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकेर हिँडिरहेको छ,’ उनले भनिन्, ‘देश आयातमा भर परेको छ, वैदेशिक ऋण बढेको छ, राष्ट्रिय पूँजी विकास हुन सकेको छैन ।’ उनले युवालाई रोजगारी नदिने, मधेशमा पिउने पानीजस्तो आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने अवस्था दलहरूको असफलताको परिणाम भएको बताइन् ।

भण्डारीले आफू निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्ने स्पष्ट पारेकी छन् । पार्टीले रोक्ने प्रयास गरे पनि जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तअनुसार निरन्तर अघि बढ्ने उनको भनाइ थियो । एमालेभित्रै समर्थन र असहमतिबीच आफ्नो सक्रियता बढाउँदै लैजाने सन्देश उनले दिएकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.