
विराटनगर । २४ वर्षको उमेरमा कोही युवती आफ्नो ‘करिअर’ र भविष्यका सपनाहरू बुन्दै गरेका हुन्छन् । तर, वीरेन्द्रनगर सुर्खेतकी पार्वती तिवारीका लागि यो उमेरको अर्थ फरक छ ।
उनी ८ जना सन्तानकी ‘आमा’ र १ एक ३० जना सहाराविहीन वृद्धवृद्धाकी ‘छोरी’ बनेकी छिन् । यो उनको रगतको नाता होइन । तर, भावना र सेवाले गाँसेको गहिरो सम्बन्ध हो ।
कुनै समय सरकारी सेवामा भविष्य खोज्ने सपना बोकेकी पार्वतीको जीवनले त्यतिबेला नयाँ मोड लियो, जब १८ वर्षको उमेरमा उनको पाइला हेटौँडामा रहेको मानवसेवा आश्रममा पर्यो । त्यहाँको वातावरण र सेवाभावले उनलाई यति प्रभावित बनायो कि उनको जीवनको लक्ष्य नै परिवर्तन भयो ।
‘आश्रममा सेवा गर्न थालेपछि सरकारी जागिर खाने चाहना कता हरायो, पत्तै भएन,’ उनी मुस्कुराउँदै सुनाउँछिन्, ‘अब त म यहीँ सेवामा खुसी छु । आत्मसन्तुष्टि पनि यहीँ मिल्छ ।’ हेटौँडाबाट सुरु भएको उनको सेवा यात्राले विराटनगर महानगरपालिका–५ को मानवसेवा आश्रममा आएपछि जीवनको अभिन्न अंगको रुप लिएको छ ।
सुरुवाती दिनहरु पक्कै सहज थिएनन् । आश्रममा आश्रितहरूको दिसा पिसाब सोहोर्नु पर्दा र अनेक चुनौती सामना गर्दा कहिलेकाहीँ किन यो काममा लागिएछ’ भन्ने सोच नआएको पनि होइन । तर, विराटनगर आश्रममा ३ महिनाकी सुम्निमासँगको भेट उनको जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो ।
‘सुरुमा त चुनौतीहरू देखेर घर फर्किउँ जस्तो लाग्थ्यो । तर, जब ३ महिनाकी सुम्निमासँग भेट भयो । ऊसँग एक किसिमको लत नै बस्यो,’ पार्वती आफ्नो विगत सम्झन्छिन्, ‘त्यसपछि आश्रम छोडेर जान मनै लागेन । साँच्चै भन्नुपर्दा मलाई आश्रममा रोक्ने बाहाना नै सुम्निमा बनिन् ।’ आज तिनै सुम्निमा ठूली भएर बोर्डिङ स्कुल जान थालेकी छिन् ।
पार्वतीको दैनिकी ८० प्रतिशत मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको हेरचाहमा बित्छ । कहिले ढुंगाले हान्ने, कहिले हातै टोकिदिने जस्ता व्यवहारले सेवामा खटिन निकै सकस हुने गरेको उनी बताउँछिन् । तर, उनी मायाको शक्तिमा विश्वास गर्छिन् ।
‘मान्छेलाई खानाले भन्दा पनि मायाले आफ्नो बनाउन सकिने रहेछ,’ उनी भन्छिन्, ‘आउँदा ढुंगा हान्ने आमाबुवाहरू पनि हाम्रो माया पाएपछि हामीलाई नै माया गर्न बाध्य हुनुहुन्छ ।’ सेवाभावसँगै उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेकी छिन् ।
उनी आश्रममा रहँदा केही गुमाएको महसुस गर्दिनन् । बरु धेरै पाएको बताउँछिन् । ‘मेरो आफ्नो बा–आमालाई हेर्न त दिदी भाइहरू हुनुहुन्छ । तर, यहाँ घरबारविहीन बेसहारा आमाबुवाको सेवा गर्दा उहाँहरूको अनुहारमा जुन हाँसो आउँछ । त्यसैमा मेरो खुसी छ,’ उनी भन्छिन्, ‘आश्रमलाई मैले भन्दा पनि आश्रमले मलाई धेरै कुरा दिएको छ ।’
विवाह नै नगरी ८ जना बालबालिकाले ‘आमा’ भनेर बोलाउँदा र १ सय ३० जनाले ‘छोरी’को स्नेह दिँदा उनले एउटा विशाल परिवार पाएकी छिन् । घरबाट विवाहको लागि दबाब छ कि छैन भन्ने प्रश्नमा उनी हाँस्दै जवाफ दिन्छिन्, ‘मलाई घरबाट विवाह गर्नुपर्छ भनेर कहिल्यै भन्नु हुन्न । त्यसैले अहिले विवाह गरेर यहाँबाट जाने सोच छैन । अब परिस्थितिले कता डोर्याउँछ, हेर्दै जाऊँ ।’
चारैतिर तिजको रौनकता छाएको छ । चाडपर्वको यो माहोलले उनको मनमा घरको याद नआउने पनि होइन । आश्रममा दर खाने र तिज मनाउनेहरूको लर्को लाग्दा भित्रभित्रै घर जाउँ–जाउँ लाग्ने मनलाई उनी सम्हाल्छिन् ।
उनी आश्रमकै आमाबुवाको खुसीमा रमाउने निर्णय गर्छिन् । ‘चाडपर्व त यहाँका आमाबुवाले पनि मनाउन पाउनुपर्छ,’ उनी भन्छिन्, ‘उहाँहरूलाई छोडेर कसरी जानु ?’ सेवामा उनको समर्पण कति छ भन्ने कुरा यसैबाट प्रस्ट हुन्छ, उनी ५ वर्षको अन्तरालमा गत वर्षको दसैंमा मात्र घर पुगेकी थिइन् ।
त्यसो त विराटनगर आश्रममा पार्वती एक्ली होइनन् । उनीजस्तै अरु धेरैले घरको याद र चाडपर्वको रमाइलोलाई मनमै दबाएर निःस्वार्थ सेवामा आफूलाई समर्पित गरेका छन् । विराटनगर आश्रममा पार्वतीजस्तै आफ्नो परिवार छोडेर सेवामा समर्पित १६ जना सदस्य छन् ।
आत्मसन्तुष्टि र जीवनको वास्तविक अर्थ भौतिक सुखमा भन्दा पनि निःस्वार्थ सेवामा लुकेको हुन्छ भन्ने कुरा उनीहरूको निःस्वार्थ समर्पणले प्रमाणित गर्छ । पार्वतीको यो यात्राले सेवा आफैँमा एउटा सुन्दर जीवनशैली हो भन्दा फरक नपर्दो हो ।























