उपसभामुख अनुमतिबिनै विदेश गएको भन्दै सांसद भट्टराईले उठाए प्रश्न

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ५, बिहीबार १७:११

काठमाडौं । नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (संघीय सांसद) योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको विदेश भ्रमणका बारेमा गम्भीर प्रश्न उठाएका छन् ।

संसदको बिहीबारको बैठकमा बोल्दै उनले उपसभामुख यस कार्यकालमा मात्रै १७ पटक विदेश गएको तथ्य सार्वजनिक गर्दै १० पटक कुनै स्वीकृति नै नलिइकन भ्रमण गरेको आरोप लगाए । भट्टराईले संसदमा भने, ‘१७ पटक विदेश भ्रमण गर्नु आफैंमा असामान्य हो । त्यसमा पनि ७ पटक मात्र सभामुखको स्वीकृति लिएर जानुभएको छ । १० पटक त कसैको अनुमतिबिनै विदेश भ्रमण भएको छ । यो कसरी सम्भव भयो ? कुन आधारमा उहाँ जानुभयो ? को–कोको निम्तोमा जानुभयो ? यो प्रश्न सरासर संसद र सम्पूर्ण कूटनीतिक प्रक्रियासँग जोडिएको छ ।’

उनले उपसभामुखको यो शैलीलाई आचरण र संस्थागत मर्यादासँग जोडेर प्रश्न उठाए । अमेरिकासहितका भ्रमणमा उपसभामुखले दिएको भाषण वा गतिविधिको आधिकारिक अभिलेख संसद र परराष्ट्र मन्त्रालयमा रहेको छ वा छैन भन्ने विषयमा पनि उनको प्रश्न छ ।

भट्टराईले भने, ‘यो सामान्य कुरा होइन । संसदको संस्थागत स्मृतिमा के छ ? परराष्ट्र मन्त्रालय वा डिप्लोमेटिक एजेन्सीमा के अभिलेख छ ? यो संसद्ले पत्ता लगाउनुपर्छ ।’ संसद पदाधिकारीले अनुशासनमा बस्नुपर्ने र नेपालको कूटनीतिक मर्यादालाई पालन गर्नुपर्नेमा उनको जोड छ ।

भट्टराईले भने, ‘उपसभामुख मात्र नभइ सभामुख र सांसद सबैजना राष्ट्रिय हितमा चल्नुपर्छ भन्ने कुरा स्पष्ट छ । संसदले उपसभामुखसँग जवाफ खोज्नै पर्छ ।’
यसै क्रममा उनले उपसभामुखलाई हटाउने प्रयास जनजाति महिला भएकै कारण गरिएको भनेर सार्वजनिक भएको प्रचारलाई ‘इमोसनल ब्ल्याकमेलिङ’को संज्ञा दिए ।

उनले भने, ‘इमोसनल ब्ल्याकमेलिङ गर्नु आवश्यक छैन । यदि उपसभामुख पद खाली भयो भने दलित महिला आउन सक्छिन् । मधेशी महिला आउन सक्छिन् । फेरि जनजाति महिला आउन सक्छिन् । ९२ जना दलित महिला सदस्य यो सभामा हुनुहुन्छ । त्यसैले यो भावनात्मक ‘ब्ल्याकमेल’ गरेर गम्भीर प्रश्नलाई छेउमा राख्न मिल्दैन ।’

भट्टराईले यसलाई राजनीतिक विषय भएको र त्यसैलाई आधार बनाएर निर्णय लिनुपर्ने बताए । उनले अघिल्लो समयमा सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा भोट नदिएको प्रसंगसमेत कोट्याउँदै केही सांसदहरूलाई प्रश्न गरे । उनले भने, ‘त्यस बेला महिलाप्रति आँसु झार्ने माननीयज्यूहरू कता हुनुहुन्थ्यो ? त्यसैले अहिले ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेर विषयवस्तु टार्न खोज्नु गलत हो ।’

भट्टराईले यो विषय अब संसदले नै छानबिन गरेर स्पष्ट जवाफ खोज्नुपर्नेमा जोड दिए । उपसभामुखको १० वटा अनुमतिविहीन विदेश भ्रमण व्यक्तिगत नभएर सम्पूर्ण संसद र राष्ट्रकै कूटनीतिक मर्यादासँग जोडिएको संवेदनशील विषय भएको उनको आशय थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.