झापामा यात्रुवाहक बस दुर्घटना, ११ जना घाइते

Share this
828shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ६, शुक्रबार १७:५२

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१० किरात चौकनजिक यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

कुन्जीबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २७७३ नम्बरको बस दिउँसो २ः५५ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर बिर्तामोड नगरपालिका–३ की ५३ वर्षीया सुत्रिा कडरिया, ७० वर्षीया डिकमाया खतिवडा, ५० वर्षीया रुपादेवी उप्रेती, बाह्रदशी गाउँपालिका–४ की ४० वर्षीया अस्मिमा खातुन र उनकी १३ वर्षीया छोरी सावरी खातुन घाइते भएका छन् ।

गर्भवती अवस्थाकी ३५ वर्षीया सफिना खातुन, उनका ७ वर्षीय छोरा इसाफ आलम, ३ वर्षीय छोरा फरियाफ आलमसमेत घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–४ की ३६ वर्षीया निर्मला काफ्ले, ३४ वर्षीया तुलसा गौतम र उनका ११ वर्षीय छोरा नितेश गौतम घाइते भएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सबै घाइतेको अवस्था सामान्य छ । उनीहरुको बिर्तामोडकै बिर्तासीटी अस्पतालमा उपचार भइरहेको जानकारी खड्काले दिए ।

बस र चालक मोरङको उर्लाबारी नगरपालिका–४ का ५६ वर्षीय मोहनलाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.