
विराटनगर । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
पर्वतीय पर्यटन क्षेत्रको यो महत्त्वपूर्ण छाता संगठनको नेतृत्व गर्नका लागि उम्मेदवारहरूले आआफ्ना समूह नै बनाएर प्रचारप्रसारलाई तीव्र पारेका छन् ।
सामाजिक सञ्जालदेखि औपचारिक कार्यक्रममार्फत उम्मेदवारले आफ्ना एजेन्डा प्रस्तुत गर्न व्यस्त भएका छन् ।
भदौ ७ गते (भोलि शनिबार) काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनमा मुख्यतया २ समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
एकातर्फका अनुभवी पर्यटन व्यवसायी कुलबहादुर गुरुङको नेतृत्वमा एउटा समूह चुनावी मैदानमा छ भने पर्वतारोहण विज्ञ फुर गेल्जे शेर्पाको नेतृत्वमा अर्को समूहले उम्मेदवारी दिएका छन् ।
दुवै समूहले आआफ्ना प्यानल घोषणा गरिसकेका छन् र पर्वतीय पर्यटनको विकासका लागि विभिन्न आकर्षक एजेन्डाहरू अघि सारेका छन् ।
को–को छन् प्रतिस्पर्धामा ?
कुलबहादुर गुरुङको नेतृत्वको प्यानलले आफूलाई व्यावसायिक तथा समावेशी समूहको रूपमा प्रस्तुत गरेको छ । करिब ४ दशकदेखि पर्यटन व्यवसायमा सक्रिय गुरुङले नेपाल पर्वतारोहण संघको महासचिव र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को उपाध्यक्ष जस्तो पदमा रहेर काम गरिसकेका छन् ।
उनको समूहले सुरक्षित र दिगो हिमाली पर्यटन, हिमाल संरक्षण र जलवायु कूटनीति, स्थानीय समुदायको सशक्तीकरण र संस्थागत पारदर्शिता जस्ता विषयलाई मुख्य एजेन्डा बनाएको छ ।
अर्कोतर्फ, बाल्यकालदेखि नै ट्रेकिङ र आरोहणमा सक्रिय फुर गेल्जे शेर्पाको समूहले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण’ लाई मुख्य नारा बनाएको छ ।
शेर्पाको समूहले नेपालमै ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना गर्ने, आपत्कालीन उद्धारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने र पर्वतीय पर्यटनमा शिक्षित युवाको प्रवेशलाई प्राथमिकता दिने जस्ता महत्वाकांक्षी योजनाहरू अघि सारेका छन् ।
चुनावको एजेन्डाभन्दा ठुलो हिमालको संकट
एकातिर चुनावी माहौल तातिरहेको बेला, अर्कातिर विज्ञहरूले जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमालय क्षेत्रमा गहिरो संकट निम्तिरहेको चेतावनी दिएका छन् ।
हिउँ पग्लिएर हिमालहरू काला चट्टानमा परिणत हुन थालेको र यही अवस्था रहे केही दशकमा हिमालको अस्तित्व नै खतरामा पर्न सक्ने उनीहरूको निष्कर्ष छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को एक प्रतिवेदनले सन् २१०० सम्ममा हिमालय क्षेत्रको एक तिहाइभन्दा बढी हिउँ पग्लिन सक्ने प्रक्षेपण गरेको छ । यसले नेपालको जैविक विविधता, कृषि, जलस्रोत र समग्र अर्थतन्त्रमा नै भयावह असर पार्ने देखिन्छ ।
यो गम्भीर विषय पर्वतारोहण संघको नेतृत्वमा पुग्न चाहनेका लागि प्रमुख प्राथमिकता बन्नुपर्ने हो । पर्वतारोही जेनजेन लामा जस्ता व्यक्तिहरूले विगतका वर्षदेखि नै जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे आवाज उठाउँदै आएका छन् ।
आरोहीहरूले हिमालमा हिउँको मात्रा घटेको र मौसममा अस्वाभाविक परिवर्तन आएको प्रत्यक्ष अनुभव गरिरहेका छन् ।
नेपाल पर्वतारोहण संघको यो निर्वाचन केवल नेतृत्व परिवर्तनका लागि मात्र होइन, बदलिँदो परिस्थितिमा पर्वतीय पर्यटनको भविष्य सुरक्षित गर्ने नीतिको छनोट पनि रहेको सगरमाथा आरोही जेनजेन बताउँछन् ।
उनको अनुसार उम्मेदवारहरूले आफ्ना व्यावसायिक एजेन्डाहरू अघि सार्नु स्वाभाविक हो, तर जलवायु परिवर्तनको विश्वव्यापी संकटलाई नजरअन्दाज गर्न मिल्दैन ।
उनी भन्छन्, ‘हिमाल नै नरहे पर्वतारोहण र पर्वतीय पर्यटनको के अर्थ रहला ? त्यसैले, आउने नयाँ नेतृत्वले हिमाल संरक्षण र जलवायु परिवर्तनको मुद्दालाई उठाउन जरुरी छ ।’
त्यसो त जेनजेन आफैले पनि उम्मेदवारी दिएका छन् । संघमा दर्ता भएका पर्वतारोही (बुक होल्डर) र पर्यटन मजदुरमध्येबाट ४ सदस्य पदका लागि हुने निर्वाचनमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्य पदमा उम्मेदवारी दिनेहरूमा जेनजेन लामा, फुरतेन्जी शेर्पा, मिङ्मार शेर्पा र सन्देश शेर्पा रहेका छन् ।
यस्तै, पेम्बा तेन्जिङ शेर्पा, आङ थिन्दु शेर्पा, सोना तेम्बा शेर्पा, फुर्वा ओङ्दी शेर्पा, तासी शेर्पा, दावा ओङजु शेर्पा, दाबुटी शेर्पा र दावा टसी शेर्पाले पनि सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
संघको निर्वाचन तालिका अनुसार पर्वतारोही र पर्यटन मजदुरतर्फका ४ सदस्य पदका लागि भदौ ८ गते छुट्टै मतदान हुनेछ । पदाधिकारी तथा सदस्य पदका लागि भने भदौ ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा मतदान कार्यक्रम तय भएको छ । हिमालको समस्या र आरोहीको समस्याका विषयमा कुरा उठाउन नै आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनको माहौल तातिरहेको बेला पर्वतारोहण क्षेत्रका मजदुर र आरोहीहरूका समस्या भने अझै ओझेलमा परेको आरोहीहरू बताउँछन् । लामो समयदेखि आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याए पनि वास्तविक सुनुवाइ हुन नसकेको उनीहरूको गुनासो छ ।
आफू पनि एक आरोही र मजदुर भएको बताउँदै जेनजेनले एक उम्मेदवारले यस क्षेत्रका जल्दा बल्दा समस्यालाई सम्बोधन गर्नकै लागि आफू निर्वाचनमा होमिएको बताउँछन् । उनका अनुसार हिमाल चढ्ने मजदुरदेखि व्यावसायिक पर्वतारोहीसम्मका अनेकौँ समस्या छन्, जसलाई संघको आगामी नेतृत्वले गम्भीरताका साथ लिन जरुरी छ ।
‘अहिलेसम्म धेरै पटक हाम्रा कुराहरू राख्यौँ, तर समस्या जहाँको त्यहीँ छ,’ उनले भने, ‘पर्वतारोहीहरूका लागि आवश्यक तालिम अत्यन्तै महँगो छ । एनएमए जस्तो संस्थाले आरोहीहरूलाई प्रत्यक्ष सहयोग गर्नुपर्ने हो । तर, पहिलेदेखि सञ्चालनमा रहेका तालिमहरू समेत अहिले रोकिएका छन् ।’
उनले संघको नयाँ नेतृत्वले बन्द भएका तालिमहरू पुनः सञ्चालन गर्न र तालिम शुल्कलाई सर्वसुलभ बनाउन बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिए । ‘म आफैंले यी सबै समस्या भोगेको छु, त्यसैले पनि मजदुर र आरोहीहरूको हकहित सुनिश्चित गर्न मेरो उम्मेदवारी हो,’ उनले थपे ।
एनएमएको निर्वाचनमा सदस्य पदका लागि सगरमाथा आरोही दिकी शेर्पाले पनि आफ्नो उम्मेदवारी दिएकी छन् । सन् २००४ देखि पथप्रदर्शकको रूपमा पर्वतीय पर्यटनमा सक्रिय शेर्पाले आफ्नो उम्मेदवारीमार्फत यस क्षेत्रका नीतिगत विषयलाई प्राथमिकतामा राखेकी छन् ।
पछिल्लो समय जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको गम्भीर असरबारे आफू चिन्तित रहेको बताउँदै शेर्पाले यस विषयमा तत्काल गम्भीर बहस र समाधानको खोजी हुनुपर्नेमा जोड दिएकी छन् । ‘हिमाल हाम्रो पहिचान हो, तर जलवायु परिवर्तनका कारण यसको अस्तित्व संकटमा छ,’ उनले भनिन्, ‘अब यस विषयमा गम्भीर बहस गरेर समाधानका लागि ठोस कदम चाल्नु जरुरी छ ।’
दिकी शेर्पाले आफ्नो उम्मेदवारी पर्वतारोहण क्षेत्रमा महिलाको सहभागिता बढाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न केन्द्रित रहने बताएकी छन् । ‘पर्वतारोहणमा महिलाहरूको उपस्थिति उत्साहजनक छ, तर नीति निर्माण तहमा उनीहरूको पहुँच अझै कम छ,’ उनले भनिन्, ‘महिला आरोही तथा पथप्रदर्शकहरूलाई थप प्रोत्साहन र अवसर प्रदान गर्न मेरो प्रयास रहने छ ।’
यसका साथै, नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गरी समग्र देशको पर्यटन विकासमा टेवा पुर्याउनु पनि आफ्नो मुख्य लक्ष्य रहेको उनले सुनाइन् । कुलबहादुर गुरुङ नेतृत्वको समावेशी समूहबाट दिकी शेर्पा सदस्य पदको उम्मेदवार हुन् ।
पछिल्लो समय जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको गम्भीर असरबारे आफू चिन्तित रहेको बताउँदै शेर्पाले यस विषयमा तत्काल गम्भीर बहस र समाधानको खोजी हुनुपर्नेमा जोड दिइन् ।
नेपाल पर्वतारोहण संघ (एनएमए) को आसन्न निर्वाचन केवल नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया मात्र नभएर पर्वतीय पर्यटनका बहुआयामिक चुनौतीलाई सम्बोधन गर्ने अवसर पनि हो ।
आरोहीहरूको भनाइ अनुसार अध्यक्ष पदका लागि कुलबहादुर गुरुङ र फुर गेल्जे शेर्पाको नेतृत्वमा २ समूहबीचको प्रतिस्पर्धाले चुनावी मैदान तताएको छ । तर, यसको केन्द्रमा हिमाल, आरोही र यस क्षेत्रसँग जोडिएका मजदुरहरूको गहिरो सरोकार रहेको छ ।
एकातिर, जलवायु परिवर्तनको भयावह असरले हिमालको अस्तित्व नै संकटमा परेको छ । हिउँ पग्लिएर काला चट्टानमा परिणत हुँदै गएका हिमालको संरक्षण कसरी गर्ने भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।
दिकी शेर्पा जस्ता उम्मेदवारले यस विषयलाई गम्भीर बहसको एजेन्डा बनाउनुपर्ने आवाज उठाएका छन् । जसले भावी नेतृत्वलाई हिमाल बचाउन ठोस नीति र कार्यक्रम ल्याउन दबाब सिर्जना गरेको छ ।
अर्कोतर्फ, पर्वतारोहण जस्तो जोखिमपूर्ण पेशामा संलग्न आरोही र मजदुरहरूका समस्या पनि उत्तिकै महत्त्वपूर्ण छन् । महँगो तालिम, रोकिएका प्रशिक्षण कार्यक्रम र आरोहीको हकहितका लागि संस्थाले खेल्नुपर्ने भूमिकाबारे उठेका प्रश्नहरूले संघको औचित्यमाथि नै बहस सिर्जना गरेको छ ।
आरोही जेनजेन लामा जस्ता उम्मेदवारहरूले मजदुर र आरोहीका समस्यालाई सम्बोधन गर्नकै लागि आफूहरू चुनावी मैदानमा होमिएको बताउनुले यी मुद्दाहरू अब पन्छाएर जान नसकिने स्पष्ट पारेको छ ।
त्यस्तै, दिकी शेर्पा जस्ता महिला उम्मेदवारहरूको उपस्थितिले पर्वतारोहणमा महिला सहभागिता, सशक्तीकरण र नीति निर्माणमा उनीहरूको पहुँचको सवाललाई पनि उजागर गरेको छ ।
यो निर्वाचन पर्वतारोहण संघका लागि नयाँ नेतृत्व छनोट गर्ने मात्र होइन, बदलिँदो विश्वव्यापी परिवेशमा नेपालको पर्वतीय पर्यटनको भविष्य सुरक्षित गर्ने मार्गचित्र कोर्ने अवसर पनि रहेको सरोकारवालाहरूको बुझाइ छ ।























