
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ धोबीयारेमा अटो टेम्पो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
नेताचोकबाट धोबीयारेतर्फ जाँदै गरेको को २ ह ६२६९ नम्बरको अटो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार दुर्घटनामा परेर अटोमा सवार ग्रामथान–७ का ४५ वर्षीय ओसर विश्वासको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा शनिबार बिहान ५ः२० बजेतिर उनको मृत्यु भएको लम्सालले बताए ।
दुर्घटनामा परेर ग्रामथान–७ का ५० वर्षीय आशाराम थन्दार र ५० वर्षीया पूर्णकुमारी थन्दार घाइते भएका छन् । सामान्य अवस्थाका उनीहरुको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनालगत्तै अटो चालक ४८ वर्षीय केदार माझीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अटोको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























