
विराटनगर । ‘कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२’ बाट वरिष्ठ पत्रकार तीर्थ कोइराला सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंमा बसेर ४ दशकदेखि पत्रकारितामा सक्रिय रहेका कोइरालालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले कोइरालालाई नगद २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे ।
स्वर्गीय पत्रकार कोशराज रेग्मीको स्मृतिमा पीताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठानले पुरस्कारको स्थापना गरेको हो ।
समारोहमा बोल्दै सभामुख विष्टले पत्रकारहरूको सहमतिमै पत्रकार मैत्री कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले पत्रकारिता क्षेत्रलाई सहयोग पुग्ने गरी आवश्यक ऐन नियम बनाइने बताए ।
सो अवसरमा रेग्मीले नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीलगायतले बोल्दै कोशी प्रदेश सरकारले ल्याउन लागेको पत्रकारितासम्बन्धी कानुनलाई संशोधन गरेर मात्र ल्याउनुपर्ने बताए ।























