इजरायलबाट फर्किएपछि विपिनका आमा र बहिनीले भेटे प्रधानमन्त्री

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ७, शनिबार १६:०५

काठमाडौं । इजरायल पुगेर फर्किएका विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पाले आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

इजरायलबाट बेपत्ता बनाइएका विपिनको खोजीका लागि आमा र बहिनी गत साउन २७ गते इजरायल पुगेका थिए । इजरायलबाट फर्किएपछि उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । उनीहरुसँग भेट भएको विषय ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो । विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो । विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।’

प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर विपिनलाई बेपत्ता बनाइएको थियो । इजरायल पुगेर आमा र बहिनीले उनको रिहाइका लागि पहल गरिदिन आग्रह गरे ।

अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु इजरायल गएका थिए । नेपाल फर्किएका उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेट्दै सबै अवस्थाका बारेमा जानकारी गराएका छन् ।

नेपाली दूतावासको समन्वयमा इजरायल पुगेका विपिनका आमा र बहिनीले राष्ट्रपति इसाक हर्जोग, संसद (क्नेसट)का अध्यक्ष आमिर ओहाना र विदेशमन्त्री गिडियन साआरसँग भेटघाट गरेका थिए । सो अवसरमा पद्मा र पुष्पाले विपिनलाई तत्काल रिहा गराउन मानवीय र अन्तर्राष्ट्रिय कानुनी आधारमा पहल गर्न आग्रह गरेका थिए ।

नेपाली राजदूत धनप्रसाद पण्डित पनि भेटघाटमा उपस्थित थिए । नेपाल फर्केपछि प्रधानमन्त्री ओलीसँगको भेटमा विपिनकी आमा र बहिनीले इजरायली नेताहरूसँग भएको छलफलका बारेमा विस्तृत जानकारी गराएका छन् ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको र यसका लागि कूटनीतिक स्तरमा लगातार पहल भइरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत पनि विपिनको उद्धारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।

गाजा युद्धका क्रममा इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परेका थिए । सो घटनामा १० जनाको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासी घर भएका विपिन अपहरणमा परेका थिए । त्यसयता नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक पहललाई निरन्तरता दिइरहेको छ ।

हमासले २०२३ अक्टोबर ७ मा इजरायलको किबुजमा आक्रमण गरेदेखि विपिन सम्पर्कमा छैनन् । हमास लडाकुले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएको थियो । विपिनको अवस्था अज्ञात छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.