
काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानलाई असफल बनाउन खोज्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
काठमाडौंमा आइतबार आयोजित ‘नेपालमा शान्ति निर्माणका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले द्वन्द्व व्यवस्थापन सम्झौतामार्फत सम्भव हुने भन्दै संविधान त्यसकै परिणामस्वरूप बनेको स्मरण गराए । उनले भने, ‘द्वन्द्वको स्वरूप फरक–फरक हुन्छ । तर, जहाँ द्वन्द्व हुन्छ । त्यहाँ समाधान पनि हुन्छ । दुवै पक्षले आफ्नो अडान मात्र अडिग राखे द्वन्द्व व्यवस्थापन सम्भव हुँदैन । द्वन्द्वरत पक्षबीच सम्झौता हुँदा मात्र संविधान बनेको हो ।’
गृहमन्त्री लेखकका अनुसार द्वन्द्व सकारात्मक र नकारात्मक २ प्रकारका हुन्छन् । सकारात्मक द्वन्द्वको व्यवस्थापनले देशलाई विकासतर्फ धकेल्छ भने नकारात्मक द्वन्द्वले दुर्गति निम्त्याउँछ । उनले द्वन्द्व व्यवस्थापनमा पहिचान, समय र सम्झौतालाई मुख्य तत्वका रूपमा व्याख्या गरे ।
नेपालमा अहिलेसम्म ७ पटक संविधान बनेको स्मरण गर्दै उनले धेरै संविधान बन्ने अवस्था राम्रो नभएको टिप्पणी गरे । ‘धेरै संविधान होइन, धेरै सडक, पुल, विद्यालय र अस्पताल बन्ने अवस्था राम्रो हो,’ उनले भने ।
वर्तमान संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व सुरु हुने चेतावनी दिँदै गृहमन्त्री लेखकले केही व्यक्तिहरूले त्यसतर्फ षड्यन्त्र गरिरहेको आरोप लगाए । संविधानलाई समयसापेक्ष संशोधन गर्दै रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले अधिकारको बाँडफाँटकै कारण नयाँ द्वन्द्व जन्मिरहेको टिप्पणी गरे ।
लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूबाट द्वन्द्व व्यवस्थापन सम्बन्धी अध्यापन बढ्दै गएको जानकारी दिँदै त्रिभुवन विश्वविद्यालयमा स्कलरशिप कोटा बढाउन पहल गर्ने घोषणा गरे ।
























