
विराटनगर । काेशी प्रदेशसभामा विचाराधीन ‘कोशी प्रदेश आमसञ्चार विधेयक’काे विराेधमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले आन्दाेलन घाेषणा गरेकाे छ । संविधानको मर्म र भावनाविपरीत तथा पूर्ण प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने अभिप्रायले विधेयक पास गर्ने तयारी गरेकाे भन्दै महासंघले आन्दोलन घोषणा गरेको हाे ।
महासंघले विभिन्न संघसंस्था, महासंघका पूर्वपदाधिकारी तथा प्रतिनिधिसँगकाे छलफलपछि आन्दाेलन घाेषणा गरेकाे हाे । । ‘प्रदेशसभामा पेस भएको विधेयक स्वीकार गर्न नसकिने ठहर गर्दै विधेयकलाई सच्याउनको निमित्त दबाब दिन पहिलो चरणको आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय प्रदेश समितिको बैठकले गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम:
भदौ ९ गते : प्रदेशभरिका पत्रकारहरूले आ-आफ्नो सामाजिक सञ्जालमा प्रदेश सरकार र प्रदेशसभालाई विधेयक सच्याउनको निमित्त खबरदारी गर्दै पोस्ट गर्ने । नारा: ‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान- खारेज गर !’
भदौ १० गते : मुख्यमन्त्री, विभागीय मन्त्री तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई भेटेर विधेयक सच्याउन ध्यानाकर्षण गराउने ।
भदौ ११ गते : प्रदेशभरिका पत्रकारहरूले आ-आफ्नो जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सन्देश (SMS) पठाउने ।
भदौ १२ गते : नेपाल पत्रकार महासंघ प्रदेश समितिको तर्फबाट मुख्यमन्त्री कार्यालय र जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिने ।
भदौ १३ गते : दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा १ घण्टा धर्ना दिने ।

























