
काँकरभिट्टा । चालुआर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वीनाका मेची भन्सार कार्यालय काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएकाे छ ।
यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो ।
चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा एक अर्ब ८० करोड ८२ लाखको बस्तु तथा सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाखले बढेको छ । गत आव २०८१/८२ को साउन महिनामा रु एक अर्ब ११ करोड ३२ लाख राजस्व सङ्कलन भएको थियो ।

























