
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकविरुद्ध सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गरेको छ ।
जसपाले काठमाडौंसहित मुलुकका प्रमुख सहरमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराउने रणनीति लिएको छ । पार्टीले भदौ १५ गतेसम्म निरन्तर आन्दोलन गर्ने भएको छ ।
जसपाका अनुसार सरकारले ल्याउन लागेको विधेयकमा हदबन्दी छुटको दुरुपयोगलाई प्रोत्साहन गर्ने, अव्यवस्थित बसोबासीलाई योजनाविहीन ढंगले जग्गा बाँड्ने र संवेदनशील चुरे क्षेत्रको संरक्षणमा गम्भीर असर पार्ने खालका प्रावधानहरू समेटिएको छ । त्यसैले जनताका हकहित र पर्यावरण संरक्षणलाई मध्यनजर गर्दै विरोधमा उत्रनु परेको जसपाको दाबी छ ।
जसपा नेता दीपक कार्कीका अनुसार पार्टीले यसअघि नै जिल्ला र प्रदेश स्तरमा आन्दोलनका लागि निर्देशन पठाइसकेको छ । उनले प्रदर्शनलाई १५ गतेसम्म निरन्तर अघि बढाउने जानकारी दिँदै त्यस अवधिभित्र सरकारले ध्यान नदिए परिस्थिति झन् जटिल बन्न सक्ने चेतावनी दिए ।
उनले थपे, ‘भदौ १५ सम्म पनि सरकारले हाम्रो आवाज सुनेन भने हामी सडक र सदन दुवै मोर्चामा निरन्तर संघर्ष गर्न बाध्य हुन्छौँ ।’ जसपाको आन्दोलनसँगै उपत्यकासहित विभिन्न सहरमा सुरक्षा सतर्कता बढाइएको छ ।
























