
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फेरि अदालतमा रिट दायर गरेका छन् ।
सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्नुपर्ने मागसहित उनले सोमबार उच्च अदालत बुटवलमा रिट दायर गरेका हुन् । यसअघि जिल्ला अदालत रुपन्देहीले सोही माग अस्वीकार गर्दै मुद्दा खारेज गरिदिएको थियो ।
लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले पनि अदालतको ढोका ढक्ढक्याउने आफ्नो अडान सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘श्रीमतीको नाताले मेरो पनि जिद्दी छ— संविधान र कानुनले दिएको अधिकार प्रयोग गरेर न्यायका हरेक ढोका ढक्ढक्याउनेछु ।’
निकिताले भैरहवा कारागारमै लामिछानेलाई राखिएको प्रसंग उठाउँदै उनको जीवन सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरिन् । उनले झुटा मुद्दा लगाएर सत्ता र शक्तिको दुरुपयोग गर्दै लामिछानेलाई थुन्ने मात्र नभई संसदकै उच्च तहका व्यक्तिबाट धम्की दिइएको आरोप समेत लगाइन् ।
बिगो बराबरको बैंक जमानत लिएर लामिछानेलाई जेल बाहिरबाटै मुद्दा लड्ने अवसर दिनु न्यायसंगत हुने उनको भनाइ छ । तर, त्यही माग जिल्ला अदालतले खारेज गरिदिएपछि फेरि उच्च अदालतमा पुनःरिट दायर गरेर रविले न्यायको खोजी गरेका हुन् ।
























