
विराटनगर । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन आज देशभरि धूमधामका साथ मनाइएको छ ।
यस अवसरमा विराटनगरका विभिन्न शिवालयहरूमा दर्शनार्थीको बाक्लो भीड लागेको थियो । निराहार र निर्जला व्रत बसी महिलाहरूले भगवान् शिवको पूजा आराधना गर्नुका साथै नाचगान गरेर पर्वको रौनक बढाएका छन् ।

विशेषगरी, विराटनगरको बसुकीनाथ, वनस्खण्डी र विराटेश्वरलगायतका मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित र उत्साहित महिलाहरूको उपस्थितिमा झनै उज्यालो देखिएको थियो ।

विवाहित महिलाहरूले पतिको लामो आयु, अटल सौभाग्य र सुखी दाम्पत्य जीवनको कामना गर्दै व्रत बसेका छन् भने अविवाहित युवतीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्ने मनोकामनासहित पूजा आराधना गरेका छन् ।

पौराणिक मान्यताअनुसार पार्वतीले शिवजीलाई पतिका रूपमा पाउनका लागि कठोर व्रत बसेको दिनलाई हरितालिका तीजका रूपमा मनाइने चलन चलेको हो ।

हिजोको खाएको दरका भरमा आज व्रत बसी महिलाहरूले आफ्नो आस्था र परम्परालाई जीवन्त राखेका छन् ।

तीज पर्वले महिलाहरूको शक्ति, नेतृत्व क्षमता र पारिवारिक तथा सामाजिक जीवनमा उनीहरूको समान पहुँचलाई अझ सशक्त बनाउन प्रेरणा दिओस् भन्ने कामना संघसंस्थाहरू व्यक्त गरेका छन् ।




























