
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ बिरीङ पुलमा मंगलबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान राति ८ः४० बजेतिर एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मारुती भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
घाइते अवस्थामा उद्धार गरेर बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याइएका उनलाई उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा परेर भ्यानमा सवार शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी पत्नी ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन् ।
सामान्य अवस्थाका उनीहरूको बी एन्ड सीमै उपचार भइरहेको छ । पिकअप चालक धनकुटाको महालक्ष्मी नगरपालिका–८ का२४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























