कोशीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटघाट

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ११, बुधबार १३:१०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बासबीच विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भेटघाट भएको छ ।

भेटमा नेपाल–इजरायल सम्बन्ध, श्रम–रोजगार, कृषि र स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको छ । मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रता स्मरण गर्दै यसलाई अझै गहिरो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले इजरायलसँग कृषि, श्रम–रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्यतया सहकार्य हुँदै आएको उल्लेख गर्दै नेपाली युवा विशेषगरी कृषि र ‘केयरगिभर’का रूपमा इजरायलमा कार्यरत रहेको र यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । मुख्यमन्त्री कार्कीले इजरायलको आधुनिक कृषि प्रविधि नेपाल र कोशी प्रदेशका लागि अत्यन्त उपयोगी हुने औंल्याउँदै नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत प्रदेशमा कृषि उत्पादनमा ठूला उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।

उनले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता प्रवर्धनका लागि ब्याज अनुदानमार्फत युवालाई खेतीतर्फ आकर्षित गर्ने नीति अवलम्बन गरेको जानकारी पनि दिए । साथै, कृषकलाई शैक्षिक तथा व्यावहारिक तालिम दिन सक्दा प्रदेशको समग्र आर्थिक विकासमा कृषि प्रमुख आधार बन्न सक्ने विश्वास उनले व्यक्त गरेका छन् ।

कार्कीले इजरायलमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि इजरायली सरकारमार्फत पहल गरिदिन पनि आग्रह गरेका छन् । साथै, मनमोहन प्राविधिक विश्वविद्यालय, गौरादह कृषि क्याम्पसलगायत प्रदेशका शैक्षिक संस्थासँग इजरायलले सहकार्य गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

इजरायली राजदूत बासले नेपाल–इजरायल सम्बन्ध अत्यन्तै पुरानो र गाढा रहेको स्मरण गर्दै पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नै २ देशबीचको सम्बन्ध सुमधुर रहेको बताए । उनले इजरायलमा कृषि र केयरगिभर क्षेत्रमा अवसरहरू अझै खुला रहेको उल्लेख गर्दै यसतर्फ नेपालीहरूले ध्यान दिनुपर्नेमा जोड दिए ।

राजदूत बासले नेपालमा ५० प्रतिशतभन्दा बढी जनसंख्या कृषि क्षेत्रमा संलग्न भए पनि त्यसअनुसारको प्रगति हासिल गर्न नसकिएको उल्लेख गर्दै इजरायलमा थोरै जनसंख्या कृषिमा संलग्न रहे पनि प्रविधिको प्रयोगका कारण उल्लेखनीय प्रगति भएको उदाहरण प्रस्तुत गरेका छन् । उनले कोशी प्रदेशमा कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको बताउँदै सहकार्यका लागि इजरायल सरकार तयार रहेको स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.