
विराटनगर । चालु आर्थिक वर्षका लागि बजेट तय गर्ने एजेण्डासहित बुधबार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा विवाद भएको छ । विवाद भएका कारण बैठक निष्कर्षविहीन भएको छ ।
दिउँसो २ बजेबाट सुरु भएको बैठकमा वडा सदस्यहरूले बजेटको विषयमा जानकारी नदिइएको भन्दै प्रश्न गरेका थिए । त्यसपछि विवाद सुरु भएको थियो ।
बैठकमा ‘मेयर उपमेयर भिजन’ कार्यक्रमका विषयमा विवाद भएको थियो । यो योजनामा नेकपा एमालेका जनप्रतिनिधिले असहमति जनाएका थिए । धरान उपमहानगरपालिकाका प्रवक्ता मनोजकुमार भट्टराईले बजेटमा प्रक्रिया अगाडि बढ्न नसकेको बताए ।
आजको बैठकमा बजेट तथा नीति कार्यक्रमका अतिरिक्त आर्थिक कार्यविधिहरू अनुमोदन गर्ने, कर, शुल्क तथा दस्तुरहरूको निर्धारण, निर्माण तथा खरिदसम्बन्धी प्रक्रियाहरू, करार तथा ज्यालादारी कर्मचारीहरूको व्यवस्थापन, कर्मचारी सेवा सर्त नियमावली, स्थानीय ऐन, नियम तथा कार्यविधि संशोधन, विषयगत समिति र बोर्डहरूको गठन तथा कार्यक्षेत्र निर्धारण र सार्वजनिक जग्गाको व्यवस्थापन तथा उपयोग लगायतका २७ एजेन्डाहरू छलफलका लागि राखिएको थियो । तर कुनै पनि एजेण्डामा निर्णय भएन । अर्काे बैठक कहिले बस्ने भन्ने टुङ्गो छैन ।
























