
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुने ५ दिने चीन भ्रमणको जानकारी संसदलाई दिएका छन् । प्रतिनिधिसभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले चीन भ्रमणको विस्तृत जानकारी गराएका हुन् ।
मन्त्रिपरिषद्को शुक्रबार नै बसेको बैठकले अनुमोदन गरेको सो भ्रमण भदौ १४ देखि १८ गतेसम्म चल्ने छ । प्रधानमन्त्री ओलीले भ्रमण नेपालको हित र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि गर्ने उद्देश्यले केन्द्रित रहने बताए ।
यस्ता छन् प्रधानमन्त्रीको भ्रमणका मुख्य बुँदाहरु
१, भ्रमण अवधि र निमन्त्रणा : मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ देखि १८ गतेसम्म चीनको ५ दिने भ्रमण ।
२, मुख्य उद्देश्य : चीनको थियानजिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनु ।
३, एससीओ परिचय : सन् २००१ मा स्थापित एससीओ आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एक हो । यसका पूर्ण सदस्य राष्ट्रहरूमा चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस छन् । नेपाल, टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार राष्ट्रहरू हुन् ।
४, नेपालको सहभागिता : नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार छ । नेपालको उद्देश्य यस संगठनमा सहभागिताको स्तर अभिवृद्धि गर्नु, मसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण स्पष्ट पार्नु र मुलुकको हित प्रवर्धन गर्नु हो ।
५, द्विपक्षीय भेटवार्ता : भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग दुईपक्षीय भेटवार्ता हुने । साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिले आयोजना गर्ने आधिकारिक भोजमा पनि सहभागी हुने ।
६, एससीओ प्लस शिखर सम्मेलन : भदौ १६ गते (सन् २०२५ सेप्टेम्बर १) थियानजिनमा हुने सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
७, अन्य राष्ट्रप्रमुखसँग भेटवार्ता : सम्मेलनको क्रममा रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता हुने कार्यक्रम तय छ ।
८, फासीवादविरोधी विजय समारोह : भ्रमणको अन्तिम दिन, भदौ १८ गते (सन् २०२५ सेप्टेम्बर ३), बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको चीनको प्रतिरोध युद्ध तथा विश्वव्यापी फासीवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुने । ५० भन्दा बढी देशका प्रतिनिधिहरू उपस्थित हुने ।
९, प्रमुख अपेक्षा : भ्रमणले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अवधारणा तथा प्राथमिकता स्पष्ट प्रस्तुत गर्ने विश्वास ।
१०, भ्रमण दल : प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू ।
























