
विराटनगर । तत्कालीन प्रदेश १ को नामांकन भएको अढाई वर्षपछि नेकपा (माओवादी केन्द्र) प्रदेशको नाम ‘कोशी’ मान्न तयार भएको छ ।
प्रदेशसभाबाट २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएको थियो । ‘कोशी’ नामकरण गर्दा माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । तर, पहिचान पक्षधरले विरोध गरेपछि मतदान गर्नु गल्ती भएको स्वीकार गर्दै माओवादी पहिचानकै पक्षमा उभिएको थियो ।
पार्टीको बिहीबार बसेको कोशी प्रदेश सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फरक मतसहित कोशीलाई मानेर जानुपर्ने बताए । नाम स्वीकार गर्नुअघि प्रदेशसभामा माओवादीले छुट्टै नाम प्रस्ताव गर्नेछ । त्यसपछि केन्द्रीय समितिले निर्णय गरेर नामलाई स्वीकार गर्ने तयारी छ ।
प्रदेश सचिवालय बैठक भने ‘१ नम्बर प्रदेश’को ब्यानरमुनि भएको थियो । सम्बोधनका क्रममा प्रचण्डले अब कोशीलाई मानेर जानुपर्ने बताए । ‘जहिले आउँदा पनि नामको विषय कहिल्यै टुंगिने भएन । वास्तवमा केही न केही त्यतिबेला त्रुटि गरेकै हो । कम्तीमा ‘रिजर्भेसन’ राखेर गएको भए हुन्थ्यो,’ उनले भने ।
प्रदेशका नेताहरुले नामको विषयमा प्रश्न उठाएपछि उनले भनेका थिए, ‘यो नाममा हाम्रो सहमति छैन । अब बहुमत भएको हुनाले बहुमतको कुरालाई त हामीले यही संविधानअन्तर्गत कानुन आउने हुनाले मान्न बाध्य छौं ।’ संविधान घोषणा गर्दा पनि माओवादीले आफ्नो फरक मत राखेको बताउँदै उनले प्रदेशको नाममा त्यो अवसर गुमाएको स्पष्ट पारे ।
अब प्रदेशको नामका विषयमा प्रदेशसभामा छुट्टै प्रस्ताव पेस गरेर कोशीलाई मानेर अघि बढ्नुपर्ने प्रचण्डको भनाइ छ । ‘संविधानमा हाम्रो पूरै सहमति छैन भन्ने कुरा पनि संविधानसभाको ‘माइन्यूट’मा लेख्यौं । अहिले हामीले ठूलो गर्वको साथ भन्न पाएका छौं,’ बैठकमा उनले भनेका थिए, ‘जसले यो संविधान संशोधन गर्नुपर्छ भन्ने नैतिक, राजनीतिक हैसियत र अधिकार प्राप्त छ भन्न पाएका छौं ।’
‘दुईतिहाइले निर्णय भइसकेको हुनाले हामी त्यसलाई मानेर जान्छौं भनेर कोशी नामलाई ‘डीफ्याक्टो’ (वास्तविक) रूपमा स्वीकार गरेपनि ‘डीजुरे’ (न्यायिक) रूपमा मान्नु हुँदैन । अर्को उपाय छैन,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘हामी अर्को चुनावपछि दुईतिहाइ लिएर नाम फेरौंला । तर, अहिले सबै उत्पीडित समुदायको जे भावना छ त्यो अनुसारको नाममा पार्टीबाट औपचारिक निर्णय गरौं ।’
























