
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला २ वर्षभित्र लगातार दोस्रो भेटवार्ता गरेका छन् ।
शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले राष्ट्रपति सीसँग तियान्जिन सहरमा शनिबार भेट गरेका हुन् । प्रधानमन्त्री ओलीले यस भेटलाई अत्यन्तै फलदायी भएको बताउँदै नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गरेका छन् ।
भेटपछि सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले २ मुलुकबीचको द्विपक्षीय सहयोग र सहकार्यको प्रगतिको समीक्षा गरिएको जानकारी दिए । साथै, भविष्यमा आपसी सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा सहमति भएको उल्लेख गरेका छन् ।
उनले भने, ‘राष्ट्रपति सीसँग २ वर्षमा लगातार दोस्रो पटक भेटेर फलदायी वार्ता गर्न पाउँदा खुसी लागेको छ । हामीले विभिन्न विषयमा भएको प्रगतिलाई समीक्षा गर्यौं र सहकार्यलाई अझ मजबुत बनाउन सहमति जनायौं ।’ भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई एससीओ प्लस शिखर सम्मेलनमा आमन्त्रण गरेकोमा विशेष धन्यवाद पनि दिएका छन् ।
चीनको उत्तरी सहर तियान्जिनमा हुने यस सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागी मुलुकका प्रमुखहरू समक्ष नेपालको धारणा राख्ने कार्यक्रम छ । उनले आइतबार सम्मेलनलाई सम्बोधन गर्ने तय भएको छ ।
नेपाल–चीनबीचको उच्चस्तरीय सम्पर्क पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको सन्देश यस भेटले दिएको देखिन्छ । २ वर्षमै दोस्रो पटक भएको ओली–सी भेटलाई कूटनीतिक वृत्तले ‘सम्बन्धलाई अझै सुदृढ बनाउने कदम’का रूपमा लिएको छ ।
























