माइती नेपाल विराटनगरको सामाजिक परीक्षण

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १४, शनिबार १९:१३

विराटनगर । माइती नेपालले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाको सहभागितामा माइती नेपालले एक वर्षको कार्यक्रमको समीक्षा गरेको हो ।

कार्यक्रममा माइती नेपालका विराटनगर संयोजक विनोद पोखरेलले आर्थिक वर्ष २०८१ /  ०८२ मा गरिएको आर्थिक विवरण, उपलब्धि, कार्यक्रम तथा सम्पूर्ण गतिविधिका साथै संस्थाका उपलब्धि र भोगेका चुनौतीहरू प्रस्तुत गरेका थिए ।

माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले मानव बेचबिखन नियन्त्रणमा माइती नेपालले गरेका कार्यहरू र उपलब्धिबारे जानकारी गराएकी थिइन् ।

कार्यक्रमका सहभागीहरूले माइती नेपालले गर्दै आएको कार्यलाई सराहनीय रहेको उल्लेख गर्दै राज्यले गर्नुपर्ने काममा संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

साथै मानव बेचबिखन रोकथाम सम्बन्धी कार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव राख्दै सरकारी निकायले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विराटनगर १३ का वडाध्यक्ष सूर्यलाल यादवले आगामी बजेटमा माइती नेपालका कार्यक्रमका लागि विशेष आर्थिक सहयोग छुट्याउने प्रतिबद्धता जनाए ।

सामाजिक परीक्षण कार्यक्रममा जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झा, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङ महिला सेल, इलाका प्रहरी कार्यालय रानीका प्रमुख, विराटनगर महानगरपालिकाको महिला तथा सामाजिक कल्याण प्रमुख मञ्जु लोहनी, उच्च सरकारी वकिल कार्यालयका सहायक नायब अधिवक्ता विजय नेपाल, मोरङ जिल्ला वैतनिक वकिल अञ्जना संग्रौला, वरिष्ठ अधिवक्ता कविता बस्नेत र अधिवक्ता लीला सुवेदी, मानव अधिकार सञ्जाल विराटनगरका संयोजक वासुदेव अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.