सात दिनभित्र फाइल टुंगो लगाउन मुख्यमन्त्रीको निर्देशन 

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १५, आइतबार १७:०३
सात दिनभित्र फाइल टुंगो लगाउन मुख्यमन्त्रीको निर्देशन 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल ७ दिनभित्र टुंगो लगाउन निर्देशन दिएका छन् ।

कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कार्कीले राय–परामर्शदेखि अन्य सबै खाले फाइल ७ दिनभित्र किनारा लगाउन र सम्भव नभए कारणसहित जानकारी दिन मन्त्रालयलाई आदेश दिएका हुन् ।

हामी कहाँ धेरै फाइल पनि हुँदैन तर अड्काउने प्रवृत्ति राम्रो होइन, यसमा सुधार होस्, उनले भने । मुख्यमन्त्री कार्कीले बेरुजु फछर्यौटमा पनि कडाइ गर्ने चेतावनी दिएका छन् ।

उनले नीतिगत बेरुजु र असुलउपर गर्नुपर्ने बेरुजु छुट्टाएर पुस मसान्तभित्र किनारा लगाउन र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

सुशासनलाई प्राथमिकतामा राख्दै मुख्यमन्त्री कार्कीले प्रशासनिक कामलाई छिटो, छरितो र जनताले देखिने ढंगले सम्पन्न गर्नुपर्ने बताए । गुनासो सुनुवाइलाई शतप्रतिशत गर्न, अधुरा र अलपत्र योजनाको विवरण संकलन गरी प्राथमिकतामा अघि बढाउन र संघीय सरकारसँग पनि समन्वय बढाएर नागरिकलाई सेवा दिन आग्रह गरे ।

कोशी प्रदेश सरकारले प्रदेशको आर्थिक समृद्धिका लागि सुरु गरेको उदय परियोजना, ब्याज अनुदान, पर्यटन वर्ष, पदमार्गमा आधारित पर्यटन विकास र लगानी सम्मेलनमार्फत आएका योजनाहरूलाई प्राथमिकता दिन उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

कार्यक्रममा कोशी प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फर्छ्यौट, ओएनएम सर्वे, राजस्व तथा कानुनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.