अनलाइन ठगीको पासोमा पर्नबाट सबै सचेत हुनुपर्छ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र १६, सोमबार १६:२५

अहिलेको युग डिजिटल सेवा र प्रविधिको हो । बैंकिङ कारोबारदेखि सामान खरिदसम्म धेरैजसो कामहरू मोबाइल फोन र इन्टरनेटमार्फत हुने गरेको छ ।

तर, यसैको आडमा ठगीमा सक्रिय गिरोहले कैयौं सर्वसाधारणलाई आर्थिक क्षति पुर्याइरहेका छन् । कोशी प्रदेशकी १ जना पूर्वसांसद आफैं वकिल (कानुन व्यवसायी) भएर ज्ञपपनि ‘अनलाइन बैंकिङ’ ठगीको जालोमा फस्न पुग्नु यसको पछिल्लो उदाहरण हो ।

‘म वाणिज्य बैंकको म्यानेजर हुँ, तपाईंको ‘केवाईसी अपडेट’ गर्नुपर्छ’ भन्ने नाममा आएको ‘वाट्सएप’ फोनलाई उनले विश्वास गरिन् । अधिवक्तासमेत रहेकी पूर्वासांसदका अनुसार बैंकको लोगो, सम्बोधन शैली र प्रस्तुतिकरण नै सजिलै झुक्किन सकिने खालको थियो । उनले मोबाइलमा आएको ‘ओटीपी’ दिएको केही मिनेटमै खाताबाट १ लाख ६९ हजार रुपैयाँ गायब भयो । पछि मात्र आफू ठगिएको थाहा पाइन् ।

यो घटना सामान्य हैन । पूर्वसांसद रहेकी उनले अधिवक्ताका रूपमा क्रिप्टोकरेन्सी सम्बन्धी केसहरू हेरिसकेकी छन् । तर, बेवास्ता गर्दा ठगीमा फस्नुपर्ने अवस्था आएको छ भने साधारण जनतालाई फसाउन ठगलाई सजिलो छ भन्ने बुझ्न कठिन छैन । प्रहरी र विज्ञहरूले बारम्बार भनेजस्तै कुनै पनि बैंक वा वित्तीय संस्थाले कहिल्यै ‘ओटीपी’ माग्दैनन् । तर, पनि मानिसहरू ‘विश्वसनीय’ देखिने फोन र सन्देशलाई तत्कालै मान्ने प्रवृत्तिका कारण ठगहरूको फन्दामा परिरहेका छन् ।

यस प्रकरणमा प्रहरीले सुनसरी, मोरङ लगायतका जिल्लाबाट केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ । तर, ठगीको मुख्य जालो भने सीमापार भारतमा बसेर सञ्चालन भइरहेको तथ्य खुलेको छ । सानो प्रलोभन देखाएर खाता खोल्न लगाइन्छ । त्यसपछि ठगी गरिएको रकम त्यही खातामार्फत अन्यत्र सारिन्छ ।

पक्राउ परेकामध्ये कतिपय सामान्य मजदुर र कमजोर आर्थिक अवस्थाका मानिसहरु छन् । उनीहरूलाई ‘१ लाख जम्मा भए ४ हजार पाइन्छ’ भनेर प्रलोभनमा पारिएको रहेछ । वास्तविक लाभ भने ठगी नेटवर्कले लिएको छ ।

यस्ता घटनाले २ वटा कुरा स्पष्ट देखाउँछन् । पहिलो, अनलाइन ठगी अब सामान्य अपराध होइन र यसले संगठित अपराधको रूप धारण गरिसकेको छ । यसमा सीमापार संलग्नता, धेरै तहका खातामार्फत रकम ट्रान्सफर गर्ने प्रविधि र योजनाबद्ध शैली प्रयोग भइरहेको छ ।

दोस्रो, सामान्य नागरिकदेखि शिक्षित, उच्च पदस्थ, कानुन व्यवसायी, राजनीतिज्ञसम्म पनि फसिरहेका छन् । प्रहरीले धेरै अप्ठ्याराहरू सामना गर्नुपरेको छ ।

किनकि पैसा सिधै मुख्य अपराधीको खातामा पुग्दैन । विभिन्न व्यक्तिलाई लोभ देखाएर खोलाइएका खाता र डिजिटल वालेटमार्फत छोटो समयमा दर्जनौँ ‘ट्रान्जेक्सन’ हुन्छन् । यसरी रकमलाई विभाजित गरेर घुमाइन्छ । जसले गर्दा अनुसन्धान जटिल हुन्छ । यही कारण देशभरको ठगी धन्दाले प्रहरीलाई टाउको दुखाइको विषय बनाएको छ ।

यसको समाधान के त ? सबैभन्दा पहिला नागरिकको सचेतना नै मूल उपाय हो । प्रहरीले प्रष्ट भनेकै छ, ‘बैंक वा वित्तीय संस्थाले कहिल्यै ‘ओटीपी’, ‘भेरिफिकेसन कोड’ वा खाता विवरण माग्दैनन् ।

त्यसैले मोबाइलमा आएको कोड वा व्यक्तिगत विवरण अरूलाई दिने कुरा सोचेको मात्र पनि घातक हुन सक्छ । कुनै फोन, इमेल वा मेसेजमार्फत ‘अफर’ आउँछ भने त्यसको वैधानिकता र आधिकारिकता बुझेर मात्र निर्णय गर्नुपर्छ ।

साथै, राज्यका निकायहरूले पनि कानुनी, प्रविधिक र संस्थागत संयन्त्रलाई अझ बलियो बनाउनुपर्छ । साइबर अपराध अनुसन्धानका लागि आवश्यक जनशक्ति, सिप र प्रविधि अभावमा प्रहरीलाई कठिनाइ भइरहेको छ । त्यसैले, साइबर अपराध विभागलाई सुदृढ पार्न, अन्तर्राष्ट्रिय सहकार्य बढाउन र सीमा पार अपराध नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो सुरक्षात्मक प्रणालीलाई अझ मजबुत बनाउनुपर्छ । ग्राहकलाई समय–समयमा सचेत गराउने, शंकास्पद कारोबारमा तत्काल निगरानी बढाउने र ठगीसम्बन्धी ‘रिपोर्टिङ’ प्रक्रिया सहज बनाउन जरुरी छ ।

तर, यी सबैभन्दा माथि उठेर सोच्नुपर्ने कुरा नागरिककै सजगता हो । बैंक, प्रहरी वा सञ्चारमाध्यमले जति नै आग्रह गरे पनि अन्ततः निर्णय दिने व्यक्ति ग्राहक स्वयं हुन् । पूर्वसांसद वकिलजस्तो चेतनशील व्यक्तिसमेत सजिलैसँग ठगको फन्दामा पर्दा अन्य सर्वसाधारणको अवस्था के हुन्छ भन्ने स्पष्ट छ ।

त्यसैले, अनलाइन ठगीलाई सामान्य घटना सम्झनु ठूलो भुल हुनेछ । यो हाम्रो आर्थिक सुरक्षामाथिको ठूलो चुनौती हो । सजगता, सतर्कता र सुरक्षाका उपायलाई दैनिक जीवनमै उतार्न सके मात्र यसलाई रोक्न सकिन्छ । नत्र, ठगहरूको जालो अझ विस्तार हुने छ र नागरिकको पसिनाको कमाइ निरन्तर फुत्किरहनेछ ।

त्यसैले, हामी सबै समयमै सचेत हुन जरुरी छ । अनलाइन ठगीको पासोबाट जोगिनु भनेको आफैं र आफ्नै भविष्य सुरक्षित गर्नु हो । नागरिक आफैं सचेत हुनु नै यसको सबैभन्दा ठूलो सुरक्षा कवच हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.