
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगाम फेरि विवादमा मुछिएका छन् ।
विगतदेखि नै विभिन्न विवादमा मुछिदै आएका उनले सोमबार मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे चढ्ने सरकारी गाडीको चाबी खोसेका हुन् । मन्त्री हाङगाम र सचिव पाण्डेबीच लामो समयदेखि विवाद एवं असमझदारी रहेको मन्त्रालय स्रोतले बतायो ।
आफूले चाल्न खोजेको कदममा सचिवले असहयोग गरेको भन्दै हाङगामले गाडी नै खोसेका हुन् । मन्त्रालयको को १ झ ६७९ नम्बरको गाडी चढेर सचिव पाण्डे सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पुगेका थिए । छलफल सकेर फर्कन खोज्दा आफू चढेर आएको गाडी उनले देखेनन् ।
चालकलाई सम्पर्क गर्न खोज्दा फोन ‘स्विच अफ’ थियो । पछि बुझ्दा मन्त्रीकै निर्देशनमा गाडीको चाबी खोसिएको थाहा पाएको सचिव डा. पाण्डेले बताए । अन्ततः पाण्डे मोटरसाइकल चढेर मन्त्रालय फर्किन बाध्य भएका थिए । पाण्डेले यो घटनाबारे मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशको प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराएका छन् ।
मन्त्री र सचिवबीचको द्वन्द्व करारका चालक हटाएर आफ्ना मान्छे नियुक्त गर्ने प्रयासदेखि सचिवालयका कर्मचारीको दैनिक भ्रमण भत्तालगायतसँग जोडिएको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री हाङगामले आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मन्त्रालयमा कार्यरत रहेका कार्यालय सहयोगी र सवारी चालक गरेर १० जनालाई हटाउन सचिव पाण्डेलाई लामो समयदेखि दबाब दिइरहेका थिए ।
तर, मन्त्रीको दबाबलाई सचिव पाण्डेले अस्वीकार गरिरहे । त्यस्तै, आफ्नो सचिवालयका कर्मचारीको असारको दैनिक भ्रमण भत्ताको विवरण अहिले पेस गरेर भुक्तानी मागेको आरोप पनि हाङगाममाथि लागेको छ । पुरानो आर्थिक वर्षको भुक्तानी अहिले गर्न नमिल्ने भनेर सचिव पाण्डले अस्वीकार गरेपछि उनीसँग मन्त्री हाङगाम झन् क्रुद्ध बनेका छन् ।
साथै, अनआवश्यक रुपमा इन्धनको भुक्तानी माग्ने गरेको आरोप पनि मन्त्री हाङगाममाथि लागेको छ । मन्त्री हाङगामले दिने गरेको अनुचित दबाब अस्वीकार गरेका कारण सचिव चढ्ने गाडीको चाबी नै खोसिदिएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । ‘मन्त्रीले लामो समयदेखि अनआवश्यक र अनुचित दबाब दिइरहेका छन् । तर, सचिवले अस्वीकार गर्ने गरेका कारण सम्बन्ध चिसिएको छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार यसअघि पनि झापामा भएको कर्मचारी विवादमा दुवैबीच असमझदारी देखिएको थियो । मन्त्रालयबाट पाण्डेको सरुवा भएको थियो । तर, मन्त्रिपरिषद्ले थमौती गरेपछि मन्त्री हाङगाम चिढिएका थिए । त्यही झोंक र विगतका विभिन्न विवादकै कारण उनले सचिवको गाडीको चाबी खोसेको कर्मचारीहरूको आरोप छ ।
मन्त्री हाङगाम यसअघि पनि पटक–पटक विवादमा तानिएका छन् । गत जेठमा बजेट निर्माणमा आफूलाई ‘बाईपास’ गरेको भन्दै सचिव र महाशाखा प्रमुखलाई भौतिक कारबाही गर्ने धम्की उनले दिएका थिए । गृह जिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेमाथि समेत उनले कुटपिट गरेका थिए ।
त्यस्तै, मन्त्री हाङगामका समर्थकहरूले हालै ताप्लेजुङमा वडाध्यक्षलाई कुटपिट गरी घाइते बनाएको घटना सार्वजनिक भएको छ । त्यति मात्रै हैन, मन्त्री बन्नुअघि हाङगामले सार्वजनिक मञ्चबाटै ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख डीएसपी (हाल एसपी) राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए ।
प्रदेशका मन्त्रीले बारम्बार धम्की दिने, कुटपिट गर्ने तथा सार्वजनिक सम्पत्ति प्रयोगमा अवरोध पुर्याउनेजस्ता हर्कत गरिरहेको भन्दै हाङगामको चौतर्फी आलोचना भइरहेको छ । हाङगामको गलत हर्कत, कार्यशैली र व्यवहारका कारण मन्त्रीकै मर्यादामा प्रश्न उठिरहेको सरोकारवालाको भनाइ छ ।
मन्त्रालयका कर्मचारीहरु भन्छन्, ‘मन्त्री हाङगामले ‘यो मेरो राज्य हो’ भन्दै दादागिरी देखाउने गरेका छन् । अब हामी सहन सक्दैनौं ।’ सचिवको गाडीको चाबी खोस्ने पछिल्लो विवादास्पद कदमले मन्त्री हाङगामको अनुशासनहीनता र गैरजिम्मेवार शैली पुनः उजागर भएको उनीहरुको भनाइ छ ।
सचिव डा. पाण्डेले भने आफू चढेको गाडीको चाबी मन्त्रीको निर्देशनमा खोसिएको बताए । ‘उहाँ (मन्त्री) र मबीच कुनै विवाद छैन । तर, किन चाबी खोस्नु भयो भन्ने थाहा भएन,’ उनले भने । पाण्डेका अनुसार मन्त्री हाङगामले मन्त्रालयमा भएका अरु सरकारी गाडी पनि चढ्न नदिनु भनेर निर्देशन दिएको पाइएको छ ।
यस विषयमा बुझ्न खोज्दा मन्त्री हाङगाम सम्पर्कमा आउन चाहेनन् । बारम्बार गरेको फोन उनले उठाएनन् ।

























