
विराटनगर । सिरहाको लहानमा आमा र ५ वर्षीय छोरा मृत भेटिएका छन् । उनीहरूसँगै ७ महिने शिशु गम्भीर अवस्थामा फेला पारी उद्दार गरिएको छ ।
लहान नगरपालिका–१, मटिअर्वास्थित डेरामा बस्दै आएकी २३ वर्षीया रन्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएको सिरहा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीहरूले खबर गरेको र तत्कालै घटनास्थल पुग्दा आमा छोरा मृत अवस्था भेटिएका थिए । रन्जितालाई अस्वाभाविक अवस्थामा र बालक एरोनलाई ओछ्यानमा मृत प्रहरीले फेला पारेको थियो ।
त्यहीँ मृतक नजिकै रहको ७ महिने शिशु गम्भीर अवस्थामा भेटिएपछि तत्कालै उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगिएको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलको प्रारम्भिक अनुसन्धानमा कडा किसिमको विषादी प्रयोग भएको हुन सक्ने देखिएको छ। घटनाको कारण अझै स्पष्ट भइसकेको छैन।
मृतक रन्जिताका श्रीमान् प्रविन चौधरी मजदुरीको सिलसिलामा बाहिर रहेको र हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धानलाई सूक्ष्म रूपमा अगाडि बढाएको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।























