
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर आज (बुधबार) स्वदेश फर्किदै छन् ।
राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा ओली चीन भ्रमणमा गएका थिए । ओली भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा उनले तियानजिनमा राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए भने शिखर सम्मेलनलाई सम्बोधन पनि गरेका छन् । नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदार राष्ट्रको रूपमा रहँदै आएको छ ।
सन् २००१ मा स्थापना गरिएको एससीओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एउटा हो । यसका पूर्ण सदस्य राष्ट्रहरूमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस रहेका छन् ।
अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन्। नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार राष्ट्रका रूपमा रहेका छन् ।
प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका क्रममा अन्य विश्व नेतासँग समेत भेटवार्ता गरेका थिए । मंगलबार बेइजिङमा उनले चीनका उपराष्ट्रपति हान झेङसँग छलफल गरेका थिए ।
त्यस्तै भ्रमणका क्रममा उनले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ लगायतसँग पनि भेटवार्ता गरेका थिए ।
भ्रमणमा प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडालगायत सहभागी थिए ।
























