
काठमाडौं । नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।
तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङका अनुसार ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा बुधबार बिहान २ बजेतिर उनको निधन भएको हो । इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।
हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी २ सातादेखि अपार्टमेन्टमा बसेर विश्राम गरिरहेकी थिइन् । कान्छी छोरीसहित उनी हात्तीवनमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारअनुसार उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
तामाङ कलाकार समाजकी पूर्वअध्यक्ष समेत रहेकी इन्दिरा गोलेले तामाङ गीतसंगीतलाई विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । रेडियो नेपालमा स्वर परिक्षा उत्तीर्ण गरेपछि उनले नेपाली लोकदोहोरी, आधुनिक र तामाङ गीतहरूमा आफ्नो स्वर प्रस्तुत गर्दै लोकप्रियता कमाइन् ।
उनको जन्म सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा भएको थियो । उनले तामाङ सेलो र अन्य लोकगीतमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवर्धनमा विशेष योगदान पुर्याइन् ।
उनको स्वरमा सजिएका गीतहरुमध्ये ‘चाँगुनारायण थान’, ‘जाइफूलको बासना’, ‘घर त छाउनीमा’, ‘सफा ट्याम्पुरी’, ‘होइ ताङ्बा’, ‘गाङ ग्याब्सेल’ लगायतका गीत सदाबहार रहेका छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी र आधुनिक शैलीमा करिब ५ हजार गीतमा स्वर दिइसकेकी थिइन् ।
उनको उपचारका लागि तामाङ कलाकार संघ लगायत संघसंस्थाले आर्थिक संकलन अभियान पनि चलाइरहेका थिए । इन्दिरा गोलेका २ छोरी छन् भने पतिको यसअघि नै निधन भइसकेको छ ।























