
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ ।
भण्डारी रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव हुन् । काठमाडौंको कपनमा रहेको उनको घर नजिकै कुटपिट हुँदा टाउकोमा गहिरो चोट लागेको र उपचारपछि १० वटा टाँका लगाइएको रास्वपा नेता दीपक बोहोराले जानकारी दिएका छन् ।
नेता बोहोराका अनुसार भण्डारीको सिटी स्क्यान रिपोर्ट सामान्य आएको छ, तर चिकित्सकले पुनः फ्लोअप गर्न सुझाव दिएका छन् । आक्रमणपछि उनलाई बुधबार राति नै चाबहिल चुच्चेपाटीस्थित स्तूपा सामुदायिक अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
घटनाबारे जानकारी दिँदै भण्डारीले भने, ‘बुधबार करिब राति ८ बजेतिर कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्किँदै गर्दा मोटरसाइकलमा आएका ३ जनाले बाटोमा आक्रमण गरे । १ जनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरे ।’
आक्रमणपछि भागेर घरभित्र छिरेपछि आक्रमणकारी फरार भएको र ज्यान जोगिएको उनले बताए । घटनाबारे जानकारी पाएपछि रास्वपाले तत्काल प्रहरीलाई खबर गरेको छ ।
हाल बौद्ध प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । आक्रमणकारीको पहिचान भने अहिलेसम्म खुलेको छैन ।
























