
काठमाडौं । नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएको छ ।
सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयले दर्ता नभएका सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन प्राधिकरणलाई दिएको निर्देशनमा सूचीकरण पूरा नगरेका प्लेटफर्महरूलाई नेपालमा बन्द गरिने र दर्ता प्रक्रियामा अघि बढेपछि पुनः क्रमशः खोलिने उल्लेख छ।
यसअघि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सबै सामाजिक सञ्जाललाई ७ दिनको म्याद तोकेर दर्ता हुन सार्वजनिक सूचना जारी गरेको थियो । तर, तोकिएको म्यादभित्र फेसबुक, युट्युब, ट्वीटरलगायत लोकप्रिय प्लेटफर्महरूले दर्ता प्रक्रिया सुरु नगरेपछि मन्त्रालयले प्राधिकरणलाई निष्क्रिय गराउन निर्देशन दिएको हो ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले दिएको परमादेशमा नेपालमा सञ्चालन हुने कुनै पनि विदेशी वा स्वदेशी सामाजिक सञ्जाल प्लेटफर्मले अनिवार्य रूपमा दर्ता गर्नुपर्ने र त्यसपछि मात्र प्रसारण वा विज्ञापन गर्ने अनुमति हुने स्पष्ट गरिएको थियो । अदालतले दर्ता नभएका सञ्जालहरूबाट हुने अनियन्त्रित सामग्रीको मूल्यांकन र अनुगमन गर्न सरकारलाई निर्देशनात्मक आदेश पनि दिएको थियो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपाल सरकारसँग सूचीकरण नगरी सञ्चालन गर्न नपाउने सर्वोच्च अदालतको आदेश परिपालनार्थ मन्त्रालयले प्राधिकरणलाई दर्ता नभएका प्लेटफर्महरू निष्क्रिय बनाउन निर्देशन दिएको छ । सूचीकरण गरेपछि त्यस्ता प्लेटफर्महरू पुनः सक्रिय गरिनेछ ।’
यस निर्णयसँगै नेपालमा दर्ता नभएका फेसबुक, ट्वीटर, युट्युबसहितका २६ सामाजिक सञ्जाल तत्काल हुनेछन् । दर्ता भएका केही सञ्जाल मात्र सञ्चालनमा रहनेछन् ।























