सुनुवाइ समितिको सभापति भए रामहरि

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १९, बिहीबार १७:०१

काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्विरोध भएका छन् ।

संघीय संसद् सचिवालयले बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेकोमा सो अवधिमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो । एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएर केही दिनमै अर्को समितिमा सभापति बन्न सफल भएका खतिवडाले यसअघि ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा विवादास्पद ‘कुलिङ अफ पिरियड’ प्रावधान संशोधनको घटनापछि नैतिक जिम्मेवारी स्वरूप पद छोडेका थिए । उनले साउन २८ गते राजीनामा दिएका थिए ।

संघीय संसद् सचिवालयले रिक्त पदमा सभापति चयनका लागि कार्यतालिका सार्वजनिक गरेको थियो । सो कार्यतालिका अनुसार बिहीबार उम्मेदवारी दर्ता र शुक्रबार निर्वाचन तोकिएको थियो । तर, प्रतिस्पर्धी नभएकाले खतिवडा निर्विरोध बनेका हुन् ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार अब औपचारिक रूपमा सभापति घोषणा शुक्रबार साँझ सवा ५ बजे बस्ने समिति बैठकले गर्नेछ । यसअघि भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति छोडेपछि उक्त पद रिक्त थियो ।

त्यहाँ खतिवडा निर्वाचित भएका हुन् । तर, विवादले राजीनामा दिन बाध्य भएको १ महिना नबित्दै उनले सुनुवाइ समिति सभापति प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.