
विराटनगर । मुस्लिम धर्मावलम्बीहरूले ‘महान् पर्व’ शुक्रबार (आज) पैगम्बर मोहम्मद ( सल्लल्लाहु अलैही वसल्लम) को १५०० औँ जन्मोत्सव धूमधामसित मनाइरहेका छन् ।
पैगम्बर मोहम्मदको जन्मोत्सव विराटनगरसहित मोरङ जिल्लाका विभिन्न स्थानमा श्रद्धा, भक्ति र उत्साहका साथ भव्यतापूर्वक मनाइरहेका छन् ।

विराटनगरको जामा मस्जिद, जामिया मदरसालगायत प्रमुख धार्मिक स्थलहरू आकर्षक तरिकाले सजाइएका छन् । स्थानीय मुस्लिम समुदायले गरिब, असहाय, रोगीलाई खाना, कपडा र आर्थिक सहयोग वितरण गर्दै पैगम्बर मोहम्मदको दया, करुणा र मानव कल्याणको सन्देशलाई व्यवहारिक रूपमा देखाएका छन् ।

इस्लाम धर्मका संस्थापक र मानव सभ्यताको महान् मार्गदर्शक पैगम्बर मोहम्मदको जन्मदिनलाई मुस्लिम समुदायले ‘ईद–ए–मिलाद’ वा ‘मिलादुन्नबी’ का नामले विशेष श्रद्धा, भक्ति र उत्साहका साथ मनाउने गरेका छन् ।
धर्मगुरुहरूले यस अवसरमा पैगम्बर मोहम्मदको जीवन, शिक्षण र उच्च नैतिक मूल्यलाई आत्मसात् गर्न आग्रह गर्दै समाजमा शान्ति, भाइचारा, समानता र सद्भाव बढाउन सबैलाई आह्वान गरेका छन् ।

यो अवसरमा मस्जिद र मदरसा सजाइएका छन् । धार्मिक जुलुस, कुरान पाठ, नात सरिफ र दान दक्षिणा जस्ता कार्यक्रमहरू भव्य ढंगले हुने गरेको छ । पैगम्बर मोहम्मदले शान्ति, सद्भाव र मानव कल्याणको सन्देश दिएको स्मरण गर्दै विभिन्न स्थानमा शान्ति प्रार्थना तथा धर्मोपदेश गरिँदै छ ।

धार्मिक विश्वास अनुसार, पैगम्बर मोहम्मद मानव जातिलाई अन्धकारबाट ज्ञान, सदाचार र शान्तिको प्रकाशमा ल्याउने महान् दूत हुन् । त्यसैले, यो पर्वलाई मुस्लिम धर्मावलम्बीहरूले केवल उत्सवको रूपमा मात्र नभई धर्म, नैतिकता र समाज सुधारको प्रेरणा दिने अवसरको रूपमा समेत लिँदै आएका छन् ।

मुस्लिम बस्तीहरूमा बिहानैदेखि नै धार्मिक उत्सवको माहौल छ । कतिपय ठाउँमा गरिब, असहाय र रोगीलाई खाना, कपडा तथा सहयोग वितरण गरेर पनि यो पर्व मनाउने परम्परा रहिआएको छ ।




























