
काठमाडौं । दर्ता नभएका फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णय र सर्वोच्चको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारदेखि नै ती सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल, ओटीटी एप्स र विज्ञापनसहितका डिजिटल सामग्री नियमन गर्न तथा आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो ।























