माओवादी केन्द्र कोशीले माग्यो प्रधानमन्त्रीको राजीनामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र २३, सोमबार १९:४१

विराटनगर । जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको दमनको नेकपा माओवादी केन्द्र कोशी प्रदेशले निन्दा र भत्सना गरेको छ ।

आन्दोलनलाई दमन गरेर रोक्न नसकिने इतिहासमा पुष्टि भइसकेको भन्दै माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले विज्ञप्ति जारी गर्दै सरकारले विवेक गुमाएको  बताएका हुन् ।

Advertisement

‘१७ जना युवाको हत्या भएको र २ सयभन्दा बढी घाइते भएको प्रारम्भिक रिपोर्टप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अमानवीय घटनाले हाम्रो पार्टीलाई स्तब्ध, दुःखी र आक्रोशित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने जस्ता जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था युवातापूर्वक सम्बोधन गर्नुको सट्टा प्रहरीको गोलीबाट मुख थुन्ने प्रयास गर्नु सरकारको अमानवीय हर्कत हो ।’

विज्ञप्तिमा यो घटनामा ज्यान गुमाएका निर्दोष युवाको रगतको मूल्य सरकारले चुकाउनुपर्ने बताउँदै तत्काल शान्ति कायम गर्न र जनविरोधी दमनको आदेश दिने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिन माग गरेको छ ।

साथै, निहत्था जनतालाई गोली हान्न अनुमति दिने गृहसचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र प्रहरी उच्च अधिकारीलाई छानबिन गरी कारबाही गर्न पनि माओवादीले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.