कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा : ‘साना छोराछोरीको हत्या र दमनपछि पदमा बस्नु अपराध’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र २४, मंगलबार १०:२७

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै हालै सरकारले गरेको दमन र युवापुस्तामाथि भएको हिंसात्मक घटनापछि आफूलाई पदमा बसिरहन अपराधबोध भएका कारण राजीनामा दिएको जानकारी गराएका हुन् । नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका अधिकारी डा. शेखर कोइराला पक्षका हुन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई मन्त्री बनाएको थियो । तर, कोइरालाले आफ्नो पक्षका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि अधिकारीले सर्वप्रथम पदत्याग गरेका हुन् ।

अहिले सरकारमा रहेका कोइराला पक्षका अन्य मन्त्री तेजुलाल चौधरी र बद्री पाण्डे पनि दबाबमा परेका छन् भने प्रदीप पौडेलले पनि राजीनामा दिने तयारी गरेका छन् । अधिकारीले वक्तव्यमा लेखेका छन्, ‘स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात् देशलाई शोकाकुल पारेर सरकारमा बसिरहनु मेरो नैतिकता र दलको शिक्षाविपरीत हुने चेतावनी मेरो ब्रम्हले दिएको छ । यसैले अपराधबोधका बीचमा पदमा अडिनुभन्दा देश र जनतासमक्ष क्षमायाचना गर्दै राजीनामा दिएको छु ।’

उनले सोमबारै सामाजिक सञ्जालमा ‘जेनजी’ पुस्ताले काठमाडौंसहित देशभर भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध खबरदारी गरेको उल्लेख गर्दै सरकारको कदमप्रति असन्तोष प्रकट गरेका थिए । उनले लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको अधिकार भएको भन्दै त्यसलाई दमन गर्ने अभ्यास तानाशाहीतर्फ देश धकेलिएको संकेत भएको बताएका छन् ।

अधिकारीले थप भनेका छन्, ‘देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तामाथि युद्ध सरह बल प्रयोग हुनु अस्वीकार्य छ । जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन । सत्तामा रहनुभन्दा त्याग गर्नु नैतिक जिम्मेवारी हो भन्ने निष्कर्षमा पुगेको छु ।’ उनको राजीनामाले शेखर कोइराला पक्षभित्र मात्र नभएर कांग्रेस नेतृत्व र सरकारमा थप राजनीतिक तरंग ल्याउने संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.